काठमाडौँ । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफू पार्टीको प्रवक्ता नभएको स्पष्ट पारेका छन् । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
जेठ २ अघि प्रवक्ता पद नभएको र फागुन २३ पछि आफूहरु बैठकमा अनुपस्थित हुँदा प्रवक्ता पद राखिएकाले उक्त पदको जिम्मेवारी ज्ञवाली नै रहेको उनको भनाई छ ।
उनले अहिलेको अवस्थामा प्रदीप ज्ञवाली नै रहेको र अब आगामी बस्ने बैठकले प्रवक्ता को हो भनेर प्रष्ट पार्ने पनि उनले उल्लेख गरे ।
त्यस्तै उनले अहिले चर्चा चलिरहेको एमसीसीका विषयमा एमालेले अहिले नै धारणा नबनाउने प्रष्ट पारे । ‘सत्तारुढ गठबन्धनले पहिले एमसीसीलाई संसद्मा टेबुल गर्नुहुन्छ कि गर्नुहुन्न ? पहिले त्यो हेर्नुपर्यो ।’ उनले भने ।
अब, दोस्रो बैठक दिउँसो ३ बजेका लागि डाकिएको छ । उक्त बैठकमा विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक, संगठनिक र विधानसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमाथि पनि छलफल हुने भट्टराईले जानकारी दिए ।