काठमाडौं । माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा चुनावी सरगर्मी बढ्न थालेको छ । आफ्नो कित्ता अनुसार विद्यार्थी नेताहरु दौडधुपमा पनि लाग्न थालेका छन् । अध्यक्ष प्रचण्ड भातृ संगठनभित्र निर्वाचन गराउने पक्षमा नभएपछि अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरु आफ्नो च्यानलमार्फत प्रचण्डसम्म पुगेका र कतिपय पुग्न खोजिरहेकाे खबर छ ।
माओवादीका दोस्रो तहका नेताहरु वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङलगायतका नेतासम्म अखिल क्रान्तिकारीका विद्यार्थी नेताको भेटघाट पनि बाक्लिन थालेको खबर छ । स्राेत भन्छ, अघिल्लोपटक निर्वाचन भएका कारण अखिल क्रान्तिकारीकाे संगठनभित्र वैमश्यता लामो समयसम्म रहेको भन्दै प्रचण्ड अहिले अखिल क्रान्तिकारीकाे संगठनलाई विवादमा पार्न चाहँदैनन् ।
अघिल्लो पटक नेताहरु जनार्दन शर्मा र वर्षमान पुनले आआफ्नो पक्षको लाइन मिलाएर निर्वाचन लडाएका थिए । शर्मा र पुनबीचको लडाइँ झै भएको थियो । शर्माका भाई अनिल शर्मा र पुनको उम्मेदवार रञ्जित तामाङ अध्यक्षका लागि मैदानमा थिए । तामाङ निर्वाचित भएका थिए भने शर्माले भाईलाई काठमाडौं १ बाट संघीय संसदको उम्मेदवार बनाएका थिए । अहिले पनि पुन र शर्मा नै खेलोफड्कोमा लागेको चर्चा छ ।
वर्षमान पुनले आफ्नो उम्मेदवारका रुपमा प्रष्ट भनि नसकेपनि सुरेन्द्र बस्नेतलाई अगाडि सार्ने संभावना छ । बस्नेत अघिल्लोपटक तामाङकै प्यानलबाट उपाध्यक्ष निर्वाचित भएका थिए । अनि तामाङसँगै ट्युनिङ मिलाइरहेका बस्नेतले प्रचण्डसम्म पनि पहुँच पु¥याएर आफ्नो पक्षमा माहोल खडा गर्न थालिसकेकाे चर्चा विद्यार्थीहरूले गर्ने गरेका छन् । त्यसैगरी, जनार्दन शर्माले भने पञ्चा सिंहलाई अगाडि सारेको चर्चा छ ।
कर्णाली प्रदेशकी सिंह महिला पनि भएकोले शर्माले उनैलाई अध्यक्ष बनाउनुपर्ने बताइरहेका छन् । यता, देव गुरुङ पम्फा भुसाल, हितमान शाक्यसहितको टीम भने महासचिव उत्तम अधिकारीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा रहेको स्रोत बताउछ । तर, २०७८ असोजको पहिलो हप्ताबाट नै अखिल क्रान्तिकारीका विद्यार्थीहरुको नेतृत्व चयन प्रक्रियाले गति लिने बताइन्छ । साघुन्यूज