काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशील हुन आह्वान गरेका छन् ।
एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको भेलामा महासचिव पोखरेलले एमालेलाई नयाँ ढंगले अघि बढाइने भन्दै बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशील हुन आह्वान गरेका हुन् ।
उनले एमालेले मुलुभर नै २०७५ जेठ २ अघिकै आधारमा पार्टीलाई एकीकृत गर्दै अघि बढने र अन्य दलबाट आएकाहरुलाई उचित स्थान दिइने स्पष्ट पारे ।
उनले एमाले एकता चाहने पार्टी भएको भन्दै दुई/चार जना चोइटिएर जाँदैमा कुनै फरक नपर्ने बताए । पोखरेलले विभाजनमा जाने माधव नेपालको कदम दुर्भाग्य रहेको बताए ।
उनले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह पनि गरे । कार्यक्रममा दोलखा-काठमाडौं सम्पर्क मञ्चका पदाधिकारीलाई सपथ ग्रहण गराइएको थियो ।