काठमाडौं- नेकपा एमालेले पूर्वनिर्धारित विधान महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । शनिबार ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले तयारी नपुगेको भन्दै असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेको हो ।
नयाँ तालिकाअनुसार विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।महाविधेशनमा पेश गर्ने प्रस्तावको तयारी गर्नुपर्ने भएकाले केही दिन बैठक सारिएको उनले बताए ।
त्यस्तै बैठकले विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरुको टुंगो लगाएको छ । राष्ट्रिय प्रतिनिधि परिषद् नरहेकोले विधानको बाधा अड्काउ फुकाउँदै विभिन्न तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको भट्टराईले जानकारी दिए ।
विधान महाधिवेशनको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी तथा असोज ८ र ९ गते केन्द्रीय समिति बस्ने उनले बताए । त्यस्तै बैठकले सरकारले बलमिच्याइँ गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ । पूर्वसूचना नदिइ प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको बैठकको ठहर रहेको भट्टराईले बताए ।
त्यस्तै अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना राखिएको भन्दै बिमति रहेको उनले जानकारी दिए । बैठकले संसदीय मूल्यमान्यताका आधारमा सभामुखको भूमिकाविरुद्ध जारी विरोधलाई संयमित र मर्यादित ढंगले अघि बढाउन निर्देशन दिएको भट्टराईले बताए ।
त्यस्तै स्थायी कमिटी बैठकले विभिन्न विषयमा शान्तिपूर्ण प्रदर्शनका क्रममा राज्यपक्षले धरपकड गर्ने काम गरेको भन्दै निन्दा गरेको छ । बैठकले विरोध प्रदर्शनमा उत्रिएकालाई पनि आफ्ना विषयवस्तुलाई मर्यादित ढंगले प्रस्तुत गर्न अपिल गरेको छ ।