संखुवासभा हत्या प्रकरणः अनुसन्धानमा सहयोग गर्ने नै अभियुक्त-Sutra News

संखुवासभा हत्या प्रकरणः अनुसन्धानमा सहयोग गर्ने नै अभियुक्त

आइतबार, २७ भाद्र २०७८

आइतबार, २७ भाद्र २०७८

संखुवासभा- मादी-१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए ।



उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे सुनाइरहेका थिए । उनले बडाबाबु (तेजबहादुर कार्की) सहित ६ आफन्त गुमाउनुपरेकोमा बिलौना गर्ने गरेका थिए । तेजबहादुरको कोहीसँग रिसइबी नभएको, मिलनसार भएको बताउने गरेका थिए । सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको उनको भनाइ थियो ।

तर, उनका भाइ घटनाका बेला लगाएको सर्ट लगाएर बाहिर निस्किएपछि अनुसन्धान उनको परिवारमै केन्द्रित भयो । उक्त कपडा धोए पनि रगतको टाटा देखिएपछि गोप्य रूपमा अनुसन्धान गर्दा सफलता मिलेको स्रोत बताउँछ ।

उक्त कपडासहित घटनामा हत्यामा प्रयोग गरेका सामान प्रहरीले बरामद गरेको छ । संखुवासभाका डीएसपी लालध्वज सुवेदीले भने थप अनुसन्धान भइरहेकाले आज (आइतबार) इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गरिने जानकारी दिएका छन् ।

लोकबहादुरले बौदमान कार्कीको परिवारका चार पुस्ताको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् । उनी बौदमानका जेठो दाजुका नाति हुन् । उनको घर घटनास्थलबाट करिब डेढ–दुई सय मिटर दूरीमा छ ।

तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आक्रमण गरी हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ । उक्त घटना देखेपछि बडीआमा कमला, भाउजू रञ्जना, हजुरआमा पार्वता, भतिज दीपेन र भतिजी गोमा कार्कीको हत्या गरेको बयान दिएको अधिकारी बताउँछन् । तेजबहादुरले हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्यान लिएको बताएको जनाइएको छ ।

एकै परिवारका ६ जनाको हत्या सोमबार बिहान एकै समयमा भयो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार आफन्त लोकबहादुलाई पक्राउ गरेको छ । तर,एक जनाबाट बिहान यस्तो घटना कसरी सम्भव भयो भन्ने प्रश्न उब्जिएको छ । घटनामा कुनै धारिलो तयार प्रयोगसमेत भएको छैन । मृतकको टाउकोमा सामान्य चोट देखिन्छ । ६ जनाको शव चार स्थानमा करिब सय मिटर आसपास भेटिएको थियो ।

घटना बिहान भए पनि कसैले देखेको र कराएको आवाजसमेत नसुनेको बयान स्थानीयले दिएका थिए । छरछिमेक पनि काममा निस्किने समयमा एक्लै लोकबहादुरले कसरी गरे ६ जनाको हत्या ? एक्लै छोटो समयमा यस्तो घटना गर्न नसक्ने अनुसन्धानले देखाउँछ । अन्य व्यक्ति पनि संलग्न भएको आशंकामा अनुसन्धानलाई जारी राखिने प्रहरीले जनाएको छ । अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट