प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधि सभाको बैठकमा पनि सक्रिय अवरोध गर्ने तयारी गरेको छ ।
प्रतिनिधि सभाको चालू नवौं अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरू बेलमा उभिएर नाराबाजी गरिरहेका छन् । आज एक बजे बस्ने चौथो बैठकमा पनि नाराबाजी गर्ने र संसद चल्न नदिने रणनीति एमालेले तय गरेको छ ।
शुक्रवार बसेको बैठकमा घम्साघम्सी नै भएको थियो । घम्साघम्सीकै बीचमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका थिए ।
आज बस्ने बैठकमा पनि आधा दर्जनजति अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।
‘हामी आज पनि बैठकमा सक्रिय अवरोध गर्छौं,’ एमालेका एक सांसदले सूत्रन्यूजसँग भने, ‘लोकतन्त्रमा प्रमुख प्रतिपक्षी दलले अवरोध गरेपछि संसद बैठक स्थगित हुनुपर्छ । एमालेले कारवाही गरेका १४ सांसदहरूलाई पदमुक्त नगरेसम्म हामीले सदन चल्न दिँदैनौं ।’
गत भदौ १ गते एमालेले माधवकुमार नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूलाई कारवाही गरिएको सूचना तत्काल टाँस गरेका थिएनन् । पछि दल विभाजनसम्बन्धी अध्यादेश आएपछि नेकपा एकीकृत समाजवादी पार्टीमा ती सांसदहरू गएका थिए ।
एमालेले त्यही विषयलाई लिएर संसद अवरुद्ध गर्ने प्रयास गर्दै आइरहेको छ ।