मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।
मुलुकका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको औसत मौसमी विवरणअनुसार उक्त चार महिनामा मुलुकमा सरदर एक हजार ४०३ मिलिमिटर पानी पथ्र्याे तर अहिले १८ दिनअघि नै एक हजार ५२७ मिलिमिटर पानी परिसकेको छ ।
मौसम विज्ञान विभागको जलवायु विष्लेषण शाखा प्रमुख, वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलका अनुसार सेप्टेम्बर १२ अर्थात् आजसम्मको विष्लेषण गर्दा सरदर एक हजार २६८ मिलिमिटर वर्षा हुनुपर्ने थियो तर औसत विवरणअनुसार २६९ मिलिमिटर बढी पानी परिसकेको छ ।
यो सरदर वर्षाको अनुपातमा आजसम्मको वर्षा विष्लेषण गर्दा १२० दशमलव ४ प्रतिशत हो । उहाँका अनुसार सरदर वर्षाको अनुपात भने ९० देखि ११० प्रतिशतलाई मानिन्छ ।
ठूलाठूला विपद्का घटना निम्तिएपछि पछिल्ला केही दिनदेखि विस्तारै मौसम सफा हुँदै गएको हो कि भन्ने महसुस गराएको छ । कर्णाली प्रदेशबाहेक आज धेरै ठाउँमा घाम लागिरहेको छ ।
यसपालीको विपद् यति नै हो त ? आम सर्वसाधारणमा प्रश्न खेलिरहेको छ । त्यही प्रश्न मौसमविद्सँग राख्दा त्यो अनुमान गर्न अझै हतारो हुने प्रतिक्रिया प्राप्त भएको छ । उहाँहरुका अनुसार अझै विपद् टरिसकेको छैन ।