काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज आज सुरु हुँदैछ । प्रतियोगितामा आज नेपालले अमेरिकाको सामना गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:१५ बजे हुनेछ ।
मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीलाई हराएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । तथापि बलियो प्रतिद्वन्दीविरुद्ध जित निकाल्न त्यति सहज भने छैन । कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको खेल कठिन हुने बताएका छन् । सिरिजको दोस्रो स्थानमा रहेको अमेरिकामा चार खेलाडी परिवर्तन गरिएकाले उनीहरुको ट्याक्टिस बुझ्न जरूरी रहेको कप्तान मल्लले बताएका छन् ।
यसअघि त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकालाई दुबै खेलमा हराएकाले नेपाल हाबी हुने अनुमान गरिएको छ । सन् २०२० को फेब्रुअरी १२ मा त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो । त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो । त्यसअघि फेब्रुअरी ८ को खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । यद्यपि ओमानको मैदान फरक भएकाले विगतकै नतिजा दोहोर्याउन नेपाललाई कठिन छ ।