नेकपा एमालेका उपाध्यक्ष भीम रावल बेलाबेलामा कविताका कारण चर्चामा आइरहन्छन् । उनले तत्कालीन नेकपाकालीन बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कविताबाटै प्रहार गर्ने गर्दथे भने त्यसयता पनि उनले ओलीविरुद्ध धेरै कविताहरू लेखेका छन् ।
उनले पछिल्लो पटक भदौ १ गते कविता लेखेका रहेछन् । त्यही दिन एमाले विधिवत रूपमा विभाजित हुँदै थियो ।
‘पात्र मात्र फेरिएर हुँदै हुन्न, प्रवृत्ति फेरिनुपर्छ’ शीर्षकमा उनले कविता लेखेका थिए । कवितामा पार्टीको विभाजनले देश र जनतालाई फाइदा नपुग्ने आशय उनको थियो । त्यसयता रावलले कविता लेखेका छैनन् ।
नवौं महाधिवेशनदेखि यता माधवकुमार नेपाललाई साथ दिँदै आएका रावल ओली प्रधानमन्त्री हुँदा आफूलाई बालुवाटारबाट नै मार्ने धम्की आएको बताउँथे । नेता नेपालको अध्यक्षतामा एकीकृत समाजवादी पार्टी बनेपछि भने रावललगायत १० जना मध्यमार्गी नेताहरू ओली नेतृत्वकै एमालेमा बसे ।
पार्टीलाई नेकपा एकतापूर्वको अवस्था (२०७५ जेठ २) गते फर्काउनुपर्छ भनेर संघर्ष गरेका रावललगायतका नेताहरू यतिबेला ओलीको भनाइका कारण तनावमा परेका छन् । शनिवार बालकोटमा बसेको अनौपचारिक बैठकमा ओलीले पार्टीलाई जेठ २ गते फर्काउन नसकिने अभिव्यक्ति दिएपछि रावल असन्तुष्ट बने ।
उनी एमालेका सुदूरपश्चिम इन्चार्ज थिए । माओवादी नेता लेखराज भट्टले नेकपाको अन्तरसंघर्षमा ओलीलाई साथ दिएपछि ओलीले भट्टलाई इन्चार्ज बनाइदिए । रावलले इन्चार्ज आफूले पाउनुपर्ने माग छोडेका छैनन् । तर ओलीले भने सुदूरपश्चिमको इन्चार्ज लेखराज नै भएको भन्दै १० बुँदे सहमति हुबहु कार्यान्वयन नहुने बताए ।
त्यसयता रावलले आफूनिकट नेता कार्यकर्ताहरूसँग निरन्तर भेटिरहेका छन् । दश बुँदे सहमति कार्यान्वयनमा ओली सहमत नबनेको भन्दै आफूहरू एमालेमै रहन अप्ठेरो परेको रावलको दुखेसो छ ।
रावलनिकट सुदूरपश्चिमका एक नेताले भने – ‘अहिले उहाँ (रावल) अप्ठेरोमा परेको महसुस गर्नुभएको छ । पार्टी विभाजनका लागि माधवकुमार नेपाललाई साथ दिनुभएन तर अध्यक्ष ओलीबाट पनि सहयोग पाउनुभएको छैन । हामीसँगको भेटमा उहाँले यही चाल हो भने एमालेमा रहन नसकिने ब्रिफिङ गर्नुभएको छ ।’
नेकपाको शक्तिसंघर्षमा ओलीविरुद्धको मोर्चाको अग्रपंक्तिमा रहेका रावललाई ओलीले सहजै विश्वास गरेका छैनन् । ओलीनिकट नेताहरूले बाध्यतावश मध्यमार्गी नेताहरूलाई ‘एकोमोडेट’ गर्नुपरेको बताउने गरेका छन् । ईश्वर पोखरेल, विष्णु पौडेल र विष्णु रिमाललगायतका नेताहरूले रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसालहरू एमालेमै रहेको रुचाएका छैनन् ।
रावलले पछिल्लो समयमा कुनै कविता कोरेका छैनन् । उनी प्रतिनिधि सभा बैठक अवरोधमा सक्रियताका साथ लागेका पनि छैनन् । माधवकुमार नेपालकै साथ छोडेपछि मुख्यमन्त्री पाएकी अष्टलक्ष्मी शाक्य पनि अल्पमतमा परिसकेकी छन् भने प्रदेश १ मा भीम आचार्यको हालत पनि त्यस्तै छ ।
समग्रमा पार्टी विभाजनको पक्षमा उभिन नसकेका मध्यमार्गी नेताहरू यतिबेला थाल खाउँ की भात खाउँ भन्नेमा पुगेका छन् । यसअघि ओलीको चर्को विरोध गरेका भीम रावलहरूलाई ओलीले सहजै विश्वास गरेर पार्टीको जिम्मेवारी दिने कुनै परिस्थिति बनिसकेको छैन । भीम रावलको कविता आयो भने अब कस्तो आउला, त्यो भविष्यलाई नै छोडौं ।