नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जबर्जस्ती लाद्ने प्रयास भइरहेको बताएका छन् ।
एमसीसीविरुद्ध सोमबार खुलामञ्चमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै विप्लवले सम्झौता नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र नेपाली जनताको हितविरुद्ध रहेको दाबी गरे । सम्झौतामा लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन एमसीसीको सुरक्षामा रहनेलगायत थुप्रै राष्ट्रघाती प्रावधान रहेको भन्दै उनले आपत्ति जनाए ।
उनले नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसीविरुद्ध बोलेको भन्दै उनको प्रशंसा गरे । विप्लवले एमसीसी सम्झौताविरुद्ध बोलेकोमा एमाले उपाध्यक्ष भीम रावलको प्रशंसा गरे । ‘मुटुमा रगत भएको मान्छे लड्नुपर्छ । कायरहरू मात्रै हो डराउने,’ उनले भने, ‘भीम रावललाई भन्यौं । एमाले, माओवादीका कमरेडलाई भन्यौं । राष्ट्रवादी कमरेडलाई भन्यौं ।’
विप्लवले पैसाले देश समृद्ध नहुने पनि बताए । ‘पैसाले समृद्धि हुन्छ ? अमेरिकाले दिएको ५० अर्ब दिएर कायापलट हुन्छ ? अमेरिकाले सित्तैमा पैसा दिँदैछ विरोध गर्नेहरू दुष्ट हुन् भने एकजनाले । तिनीहरू दलाल हुन्,’ उनले भने, ‘आज पैसा पैसा भन्ने कांग्रेसका साथीहरू पैसाले समृद्धि रोकिएको हो ? के पैसाले विकास हुन्छ ? पैसामात्रै भए हुन्छ ? पैसाले कहिल्यै पुग्दैन । अधिकार, स्वतन्त्रता र देश स्वाधीन हुनुपर्छ । विकास र समृद्धिको बाधक पैसा होइन, सत्ता हो । जनताको हातमा सत्ता भयो भने, जनता मालिक भयो भने पहाड बन्छ । नदी बन्छ । देश हराभरा बन्छ ।’