म्याग्दी- कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानीका कुण्ड असोज १ गतेदेखि खुल्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गत वैशाख दोस्रो हप्तादेखि बन्द भएका शैक्षिक संस्था र तातोपानीका कुण्ड खुलाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले कोभिड-१९ सम्बन्धी सूक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार विद्यालय र तातोपानी कुण्ड खुलाउने निर्णय गरिएको जानकारी दिए ।
‘बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट विद्यालय खुलाउन सिफारिस भएर आएको थियो’, उनले भने, , ‘कोरोना सङ्क्रमणको दर घटेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गरेर भौतिक उपस्थितिमै पठनपाठन गराउने निर्णय भएको हो ।’
धवलागिरि, रघुगङ्गा, मङ्गला र अन्नपूर्ण गाउँपालिकाले यसअघि नै विद्यालय सञ्चालन गरिरहेका छन् । यसैगरी म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डमा जिल्लावासीका लागि सर्त पालना गरेर स्नानका लागि खुलाउने निर्णय भएको छ ।