नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्रीसमेत शेरबहादुर देउवामाथि विवादकै बीच एकपक्षीयरूपमा वडा अधिवेशन गर्न लगाएर जिल्लाका कार्यकर्तामाथि थप अन्याय र अत्याचार गरेको आरोप लागेको छ ।
देउवाले नेपाली कांग्रेस डडेल्धुराले विधिवतरूपमा वडादेखि जिल्ला कार्यसमितिबाट पारित गरेर पठाइएका क्रियाशील सदस्यमा थपघट गरेर आफूले अघि सारेका उम्मेदवार भीमबहादुर साउदलाई जिल्ला नेतृत्वमा ल्याउन अन्तिम प्रयास गरेका थिए ।
विवादको टुंगो नलगेसम्मका लागि वडा अधिवेशन स्थगित गर्दा पनि व्यापक सुरक्षाकर्मी परिचालन गरेर एकपक्षीयरूपमा अधिवेशन गरिएको थियो ।
बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेलधुरामा भएको पार्टीको अधिवेशन अस्वीकार्य रहेको भन्दै पुन अधिवेशन गर्न माग गरेको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको सो पक्षकोे बैठकले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य हुन नसक्ने भन्दै पुन अधिवेशन गर्न माग गरेको हो ।
क्रियाशील सदस्य विवाद समाधान गर्नुको सट्टा अपारदर्शी रुपमा आफ्नै जिल्लामा पार्टी सभापतिले अधिवेशन गरेको आरोप उनीहरुको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले डडेलधुरामा देखिएको अनियमितता र स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा नदोहो¥याउन खवरदारी गरेका छन् ।
उहाले प्रहरी प्रशासन लगाएर डडेलधुरामा अधिवेशन गरेकाले मान्य नहुने स्पष्ट परेका थिए । सुरुवातमै दाँतमा ढुंगा लागेको जस्तो भएको भन्दै पौडेलले पार्टीमा पारदर्शी ढंगले क्रियाशिल सदस्यता बितरण हुन नसकेको उल्लेख गरे ।
उता गृहजिल्लाका काँग्रेसका नेताहरु पनि असन्तुष्ट रहेका छन् । डडेलधुराका एक काँग्रेस नेताले भने, ‘सभापति भएर पनि सत्ताको दुरुपयोग गरेर अरुको इच्छाविपरित निर्वाचन गराउनु यहाँका नेताका लागि स्वीकार्य हुन सक्दैन । हामी यसको निरन्तर प्रतिवादमा रहेका छौं ।’
जिल्ला सभापति कर्ण मल्लले जिल्लाबाट सिफारिस गरिएका क्रियाशील सदस्यको नाम काटिएको र केन्द्रबाट थपिएको भन्दै सो विवाद समाधान नभएसम्म वडा अधिवेशन नगराउने निर्णय गरेका थिए ।