पृथ्वीनारायण शाहको शालिक ढाल्ने विप्लवलाई शाहकै तस्बिर उपहार-Sutra News

पृथ्वीनारायण शाहको शालिक ढाल्ने विप्लवलाई शाहकै तस्बिर उपहार

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

काठमाडौं । नेपाल एकीकरणका सूत्राधार मानिने पृथ्वीनारायण शाहलाई हेर्ने माओवादीको नजरिया सकारात्मक छैनन् । एकल जाति, भाषा, धर्मको विकास गरेर अन्यको अस्तित्व मासेको आरोप पृथ्वीनारायण शाहमाथि छ ।



१० वर्षे सशस्त्र युद्धको दौरानमा माओवादीहरूले यही आरोपमा पृथ्वीनारायण शाहको इतिहासमाथि धावा बोले । खोजीखोजी शालिक ढाले ।

अहिले पनि पृथ्वीनारायण शाहको प्रसंग आउनेबित्तिकै माओवादीहरू पुरानो रेडिमेड आरोप लगाएर छोइछिटो गर्न तम्सिहाल्छन् ।

माओवादीको त्यही आन्दोलनबाट जन्मिएका र अहिले माओवादीको मूलधारभन्दा बाहिर रहेका (यद्यपि, विप्लवले भने आफूलाई नै माओवादीको मूलधार दाबी गर्ने गरेका छन्) नेत्रविक्रम चन्दलाई २०७८ भदाै २८ गते सोमबार उनै पृथ्वीनारायण शाहको तस्बिर उपहार दिइएको छ ।

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाले २०७८ भदाै २८ गते सोमबार राजधानीको खुलामञ्चमा आयोजना गरेकाे विरोध कार्यक्रममा सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको पूर्णकदको स्केच उपहार दिएका हुन् । भण्डारी हाम्रो नेपाल, हामी नेपाली पार्टीका अध्यक्ष हुन् । पृथ्वीनारायण शाहको पूर्णकदको स्केच उपहार पाएपछि विप्लव खुसीले गदगद भएकाे देखिन्छ ।

विप्लवकाे विरोध सभामा आमन्त्रण गरिएका अतिथिलाई मन्तव्य राख्न समय दिइएको थियो । मन्तव्यका लागि अन्य अतिथिजस्तै भण्डारीको पनि पालो आयो । तर उनी अन्य अतिथिजस्तो आफ्नो भाषणका लागि पेडियमतर्फ गएनन् । सोफामा बसिरहेका विप्लवतिर लम्किए र पृथ्वीनारायणको पूर्णकदको स्केच निकालेर तेर्साए । विप्लवले पनि त्यसलाई स्वभाविक रूपमा ग्रहण गरे । मञ्चमा एकाएक अनपेक्षित दृश्य देखिएपछि हाँसोसँगै हुटिङ चलेको थियो । हँसमुख स्वभावका विप्लवसँगै प्रकाण्ड त्यसलाइ सुम्सुम्याएर केहीबेर मुस्कुराएकाे भीडीयाेमा देख्न सकिन्छ ।

देश निर्माणमा पृथ्वीनारायण शाहले अतुलनीय योगदान दिए पनि त्यसको कदर नगरी अवमूल्यन गरिएको भन्दै भण्डारीले असन्तुष्टि व्यक्त गरे । ‘यो मुलुकको निर्मातामाथि थुकिन्छ । मुलुकका लागि योगदान दिएकाप्रति कृतघ्न हुने त्यही जमात अहिले सत्तामा छ । तिनलाई परास्त गर्नु विप्लवको पनि दायित्व हो,’ भण्डारीले भने । उनले एमसीसी राष्ट्रघाती भएको ठहर सुनाउँदै यसको समर्थन गर्नेलाई देशद्रोहीको आरोप लगाए ।

 

वर्षाकै बीच रुझ्दै भाषण गरेका विप्लवले एमसीसी सम्झौता नेपालको सार्वभौमसत्ता र स्वाधीनताविरोधी भएकाले लागू हुन नसक्ने बताए । नेपाली जनताको भावनाविपरीत लागू गरे त्यसको प्रतिरोध गर्ने चेतावनी पनि उनले दिए ।

 

विरोधसभामा सीपी गजुरेल, ऋषि कट्टेललगायत प्रगतिशील राजनीतिक धारका नेताहरूले मन्तव्य राखेका थिए । उनीहरू सबैको एउटै स्वर थियो– एमसीसी राष्ट्रघाती सम्झौता हामे । लागू गर्न हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट