काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नराम्रो काममात्रै गरेको आरोप लगाएका छन् । अदालतको परमादेशबाट बनेर दुई महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको सरकारले एमाले फुटाउने काममात्र गरेको ओलीको आरोप छ ।
उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विभिन्न आरोप लगाउँदै पिलो निचोरेर एमालेको साइज नघट्ने बताए ।
गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रचण्डलाई धोकेबाज र छट्टु नेता भन्न भ्याए ।
‘प्रचण्ड असल बाउ हो, काका हो, असल ससुरो हो । तर धोकेबाज नेता हो । राम्रो सम्धी, राम्रो ससुरो, राम्रो ज्वाइँ राम्रो बा, राम्रो काका । उहाँ सबै हिसाबले राम्रो तर एउटैमात्र खराबी छट्टु नेता हो । कार्यकर्तालाई झुक्याएर, छक्याएर आफ्नो राजनीतिक दुनो सोझ्याउने मात्र हुन्,’ उनले भने ।
त्यस्तै उनले माधव नेपाललाइ व्यंग गर्दै भने, ‘यस पार्टीबाट फाइदा लिनुसम्म लिए । १६ वर्षसम्म महासचिव भए । प्रधानमन्त्री भए । पार्टी कहाँ पुर्याए ? २४० सिटमध्ये ३३ मा झारे । महाचिवबाट चलाउन सकिँदैन भनेर राजनीमा दिए । खुरुक्क बस्या भए हुँदैनथ्यो । फेरि प्रधानमन्त्री भए । चलाउन सकेनन् । राजीनामा दिएर हिँडे । सरकार र पार्टी रसातालमा पुर्याएर राजीनामा दिए । फेरि अध्यक्षमा दाबी गरेर पार्टी रसातालमा पुर्याउन हो ?’