इजरायल जानेको भाषा परीक्षाको नतिजा सार्वजनिक-Sutra News

इजरायल जानेको भाषा परीक्षाको नतिजा सार्वजनिक

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

काठमाडौं- केयरगिभरमा रोजगारीका लागि इजरायल जाने श्रमिक छनौटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले सोमबार लिएको अंग्रेजी भाषाको लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका छन् ।



उत्तीर्ण हुनेमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन् । भाषा परीक्षा उत्तीर्णलाई अब उचाई र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइने विभागले जनाएको छ । इजरायल जाने श्रमिकले एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।

इजरायलमा सरकारले नै श्रमिक पठाउन लागेको हो । उनीहरुले बीमा, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैँ व्यहोर्नुपर्नेछ । लिखित परीक्षा उत्तीर्ण गरी उचाइ र तौल तोकिएअनुसार हुनेहरूको अन्तर्वार्ता मिति समेत तोकिएको छ । उत्तीर्ण भएकाहरूको उचाइ र तौल परीक्षण गरिनेछ । जसका लागि असोज, १, २ र ३ गते बिहान र दिउँसोको समय तोकिएको छभने अन्तर्वार्ता असोज ४ गतेदेखि ९ गतेसम्म हुनेछ ।

परीक्षापछि  परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ । सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामावाली तयार गर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट