फुर्तिलो रहन के गर्छन् मेस्सी ?-Sutra News

फुर्तिलो रहन के गर्छन् मेस्सी ?

बुधबार, ३० भाद्र २०७८

बुधबार, ३० भाद्र २०७८

काठमाडौं- अर्जेन्टिनी खेलाडी आफ्नो स्टारडम, अद्भुत क्षमता, सफलता र व्यक्तिगत कीर्तिमानका लागि चिनिन्छन् । फुटबल इतिहासकै महानतम खेलाडीमध्येका एक मेस्सी अहिले ३४ वर्षका भए । उमेर ढल्कँदै जाँदा खेलाडीको प्रदर्शन खस्किन्छ भन्ने आम बुझाई विपरीत मेस्सीको खेलमा दिन–प्रतिदिन निखार आउँदै छ । उनले आफ्नो लय र फिटनेसलाई यसरी निरन्तरता दिइरहेका छन् ।



अभ्यास र व्यायाम

मेस्सीले आफ्ना व्यायाम प्रशिक्षकको रोहवरमा नियमित रूपमा वर्कआउट प्लान फलो गर्छन् । तर, अन्य खेलाडीले जस्तो हेभी व्यायाम भने गर्दैनन् । आफ्नो शरीरको गति कसरी बढाउने र खेलमा कसरी जीवन्त रहने भन्नेमा उनी सचेत देखिन्छन् । यसकारण आफ्नो शरीरको मुभमेन्ट कायम राख्न उनले पिल्लर ब्रीज फ्रन्ट, लन्ज ह्यामस्टिङ, स्ट्रेच र पिल्लर स्किप्सजस्ता अभ्यास गर्ने गरेका छन् ।

यसपछि विभिन्न दिशामा कुद्न सक्नेगरी गति तथा फोकस बढाउन लिनियर स्पिड वर्कआउट गर्छन् । त्यस्तै, खुट्टाको मसल्स निर्माणका लागि पिल्लर स्किप्स, स्किपिङ रोप्स र स्क्वेट्स गर्छन् । तीव्रताका लागि उनी डाइगोनल हर्डल्स होप्सलगायत अभ्यास गर्छन् । हरेक वर्कआउटको अन्त्यपछि उनी पर्याप्त पानी पिउँछन् र कुलडाउन हुनका लागि ५ देखि १० मिनेटसम्म हल्का जगिङ गर्छन् ।

खाना

मेस्सी आफ्नो क्षमता कायम राख्नका लागि कडा खालका डाइट चार्ट फलो गर्छन् । इटालियन न्युट्रिसियनिस्ट जुलियानो पोसरले सन् २०१४ यता मेस्सीको डाइट चाट तयार गर्छन् । उनले पाँचवटा प्रमुख खानालाई पहिचान गरेका छन्,– पानी, ओलिभ तेल, अनाज, ताजा फलफूल र ताजा तरकारी ।

यी खाद्यान्न मेस्सीको डाइटछका प्रमुख हिस्सा हुन् । यसबाहेक बदाम र गेडागुडी पनि उनलाई मनपर्छ । तर, पोसरले मेस्सीलाई सुगरयुक्त खाना नखान सुझाव दिएका छन् । ‘मसल्सका लागि सुगर निकै खराब छ, त्यसैले यसबाट जति टाढा बस्यो, उति राम्रो,’ पोसर भन्छन् ।

पोसरले सुरूदेखि नै मांसाहारी भोजन कम गर्न मेस्सीलाई सुझाव दिने गरेका थिए । सुरुमा मेस्सीले मासु छाड्न निकै संघर्ष गर्नुपर्‍यो । तर उनी बिस्तारै अभ्यस्त हुँदै गए । मेस्सीलाई पोसरले पिज्जासमेत नखान सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट