काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।
बुधबार बस्न लागेको बैठक सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको हो ।
बुधबार राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने पहिलो कार्यसूची रहेको थियो । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने थियो ।