काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मङ्गलवार पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई गन्तव्यसम्म पु-याइदिने भन्दै ट्रकमा हालेर अरनिको राजमार्गअन्तर्गत बनेपा–१२ साझा पेट्रोलपम्प अगाडि लगेर गाडीभित्रै जबर्जस्ती करणी गरेर फरार रहेको अनुसन्धानबाट खुलेको हो ।
बालिकालाई गन्तव्यसम्म नपु-याई सोही स्थानमा छाडी गाडी लिएर फरार भएका दुई जनालाई प्रहरीले धुलिखेल नगरपालिका–७ बाट ट्रकसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा गाडी चालक झापाको हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रहरीले जनाएको छ । घटनापश्चात अनुसन्धानमा रहेको प्रहरीले दुवै जनालाई प्रदेश–२–०३–००१ख १४८५ नंको भाडाको ट्रक मोरङबाट बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको अवस्थामा धुलिखेलचोकबाट नियन्त्रणमा लिएको प्रनाउ खतिवडाले बताए ।राजधानी दैनिक