नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले माधवकुमार नेपालले कुरा नबुझ्दा आफूहरू घाइते भएको आरोप लगाएका छन् ।
बुटवलमा आयोजित वृहत कार्यकर्ता भेलामा बोल्दै नेता भुसालले एमाले कमजोर हुँदा देशकै भविष्य कमजोर हुने कुरा नेपालले नबुझेको आरोप लगाएका हुन् ।
‘एमाले कमजोर भयो भने यो देशको लोकतन्त्रको हालत के हुन्छ ?’ भुसालले प्रश्न गरे, ‘यो बीचमा केही समय हामी भाँडिएका हौँ । सबैले केके गरे गरे, को को ले केके गरे गरे त्यसको समीक्षा हुनुपर्छ ।’
उनले आफूहरू घाइते भएकोसमेत बताए । ‘यतिबेला हामी घाइते भएका छौं । अब सबैले आफ्नो गल्ती महसुस गरौँ । कसले गल्ती गर्यो, कसले गल्ती गरेन, सबै छुट्टिन्छ । माधव कुमार नेपालले यसको सामना गर्नुपर्थ्यो । उहाँले बुझ्नुभएन,’ भुसालले भने ।
उनले थपे – ‘माधवकुमार नेपालले तत्काल तत्काल बुझ्नु भएन भने पनि हामी पुनः समेटिएर आउँछौं । हामीले उहाँहरूलाई बुझ्न बाध्य पार्नेछौं ।’