एनभीए भलिबल च्याम्पियनसिपको छैटौं संस्करण असोजमा हुने-Sutra News

एनभीए भलिबल च्याम्पियनसिपको छैटौं संस्करण असोजमा हुने

बुधबार, ३० भाद्र २०७८

बुधबार, ३० भाद्र २०७८

काठमाडौं- एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको छैटौं संस्करण असोजमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप १०–१६ असोजसम्म सञ्चालन हुने जनाएको छ ।



राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए । प्रतियोगिताको प्रथम हुने टिमले ४ लाख, दोस्रो हुने टिमले २ लाख र तेस्रो हुने टिमले १ लाख रूपैयाँ र उत्कृष्ट पुुरुष÷महिला खेलाडीले जनही २५, २५ हजार रूपैयाँ पुरस्कार पाउने छन् ।

दुवै विधाका उत्कृष्ट सर्भर, लिबेरो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले जनही १०, १० हजार रूपैयाँका दरले पुरस्कार पाउने उनले बताए । क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान चन्दले बताए ।

प्रतियोगीताको पुरुषमा टिप टप हेल्प नेपाल, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स, मणिमुकुन्द क्लब, बागमती प्रदेश, मिलन क्लब, नयाँबजार सामाजिक क्लब र कर्णाली प्रदेशको सहभागिता रहेको छ । महिलातर्फ न्यु डाइमण्ड, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, एभरेष्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लबको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट