संखुवासभाको हत्या प्रकरणमा एक नयाँ आरोपी पक्राउ परेका छन् । नयाँ तथ्य फेला परेको छ । मृतक रञ्जनाको मोबाइल आरोपी कार्कीका भाइको हातबाट फेला पारेपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
एक प्रहरी अधिकारीका अनुसार लोकबहादुर कार्कीका भाई नरेश कार्की हत्याको प्रत्यक्षदर्शी रहेको थाहा भएको थियो ।
भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।
हत्या हुनु अघिल्लो दिन तेजबहादुर लोकबहादुरको घर गएका थिए । खेतालाका लागि बोलाउन गएका तेजबहादुरले त्यसदिन पनि लोकबहादुरलाई ‘सम्झाउने बुझाउने’ काम गरेको प्रहरीले जनाएको छ । लोकबहादुरले उक्त विषयलाई व्यक्तिगत कुण्ठा बनाएका थिए ।