नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको काम एमालेमा नरहेको टिप्पणी गरेका छन् ।
काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमा माधवको आवश्यकता नरहेको बताएका हुन् । ‘केही साथीहरू अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस्, तपाईंको आवश्यकता छ भनेर । माधव कामरेडको के आवश्यकता छ ? फेरि फुटाउन आउने ?’ ओलीले भने ।
ओलीले नेपालले साढे तीन वर्षमा सरकारको पक्षमा नबोलेको आरोपसमेत लगाए । ‘माधव नेपालले पार्टी र सरकारको पक्षमा बोलेको सुन्नुभयो कसैले ?’ ओलीले भने, ‘जहिले पनि रोष्ट्रममा उभिएपछि गीत गाउने, डुंगा डुब्नै लाग्यो, लौन कोही आइदेउ र बचाइदेउ । कसको डुंगा डुब्न लाग्यो, माधव नेपाललाई त्यो चिन्ता कसरी आयो? एकपटक होइन धेरैपटक गाइयो ।’
उनले नेता नेपालसँग लामो समय काम गरेकाले माया लाग्ने भएपनि अब त्यसलाई त्याग्नुपर्ने बताए । ‘लामो समय सँगै काम गरेकाले अलि अलि लोभ लाग्छ । काम छैन त्यो लोभ,’ ओलीले भने ।