काठमाडौं- युरोपा कन्फ्रेन्स लिगमा इटालियन क्लब रोमाले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा रोमाले १० खेलाडीमा समेटिएको बुल्गेरियाको पीएफसी सिएसकेए सोफियामाथि ५-१ को फराकिलो जित निकालेको हो ।
रोमाको फराकिलो जितमा कप्तान लोरेन्जो पेलिग्रेनीले दुई तथा स्टेफन अल सरावे, जियानलुका मान्सिनी र ट्याम्मी अब्राहमले समान एक गोल गरे । पीएफसी सिएसकेए सोफियाका ग्राहम कारेको गोल सान्त्वना बन्यो ।
रोमा इटालीमा भएको खेलको १०औं मिनेटमा ग्राहम कारेको गोलबाट पीएफसी सिएसकेए सोफियाले अग्रता लिएको थियो । रोमाले त्यसपछि पाहुना टोलीलाई लगातार दवावमा राख्दै २५औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । कप्तान लोरेन्जो पेलिग्रेनीले रिक कार्सडर्पको पासमा गोल गरेका थिए ।
३८औं मिनेटमा स्टेफन अल सरावेले गोल गर्दै रोमालाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । ६२औं मिनेटमा कप्तान लोरेन्जोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई जितर्फ अघि बढाए ।
यान्निक वाइल्डस्कट दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पीएफसी सिएसकेए सोफिया ८०औं मिनेटमा १० खेलाडीमा समेटियो । त्यसपछि रोमाले त्यसको फाइदा उठाउँदै दुई गोल थप्यो।
८२औं मिनेटा जियानलुका मान्सिनीले गोल गर्दै टोलीलाई ४-१ ले अघि बढाए । ८४औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गर्दै टोलीको फराकिलो जित पक्का गरे ।