किन हुन्छ पायल्स ?-Sutra News

किन हुन्छ पायल्स ?

शुक्रबार, १ असोज २०७८

शुक्रबार, १ असोज २०७८

काठमाडौं- हाम्रो गुदद्वारको छेउसम्म रक्तनलीमार्फत रगत सञ्चार भएको हुन्छ । गुदद्वारमा रगतसञ्चार गरेर फर्कने रक्तनली गुदद्वारको भित्री भागको सबैतिर सतही क्षेत्रबाटै फर्किएको हुन्छ ।



जोड गरेर दिसा बस्दा, धेरै तौल भएको सामान उचाल्दा र अन्य धेरै कारण यस गुदद्वारको भागमा जोड परेको हुन्छ । यस्तो प्रक्रिया निरन्तर लामो समयसम्म रहेमा यस वरपरका रक्तनलीहरु पनि झोलिन थाल्छन् । ती रक्तनलीलाई ढाकेका कोषहरु पनि झोलिने र सुन्निने हुन थाल्छन् । जसलाई पायल्स भनिन्छ ।

प्रकार 

गुदद्वारको तल्लो भागको रक्तनली झोलिएर बनेको पायल्सलाई बाहिरी पायल्स भनिन्छ । पायल्स भएपछि गुदद्वार वरपर धेरै दुख्ने, रगत बग्ने, सुन्निने, चिलाउने, आदि हुन्छ ।

यसको माथिल्लो भागको रक्तनली झोलिएर बनेको पायल्सलाई भित्री पायल्स भनिन्छ । भित्रि पायल्सलाई चार तहमा विभाजन गरिन्छ । पहिलो तहमा पायल्स बनेर भित्रै बसेको हुन्छ । दोस्रो तहमा दिसा गर्दा पायल्स बाहिर निस्कने र पछि आफैंभित्र जाने गर्छ ।

तेस्रो तहमा दिसा गर्दा बाहिर निस्केको पायल्स औंलाले धकेलेर भित्रै छिराउन पर्ने अवस्था हुन्छ । चौथौ तहमा बाहिर निस्केको पायल्स भित्र पस्नै नहुने हुन्छ । यो भित्री पायल्स निस्कने भागमा दुखाई महसुस गराउने नशा नभएको कारण धेरै दुख्दैन तर हल्का रगत भने देखिन्छ । विस्तारै यस्तो पायल्स तन्किदै, सुन्निदै जाँदा दुख्न सुरु हुनसक्छ ।

उपचार

सबै दुख्ने, रगत आउने समस्या पायल्स हुँदैनन् । कुनै अवस्थामा फिसर, आन्द्राको क्यान्सरसमेत हुन सक्छ । पायल्स हो वा होइन भनेर पत्ता लगाउन पहिले डाक्टरलाई प्रत्यक्ष देखाउनुपर्छ । यदि पायल्स नै हो भन्ने कुरा निश्चित भएपछि निम्न कुरामा ध्यान दिनपर्छ । कब्जियत हुन नदिन फलफुल, हरियो सागसब्जि, तरकारी, गेडागडीको झोल, बोडी, सिमी प्रशस्त खानुपर्छ ।

दिनहुँ व्यायाम गर्नुपर्छ । दिनमा कम्तिमा २ कि.मि दौड्ने प्रयास गर्नुपर्छ । भोक नलागि खानेकुरा नखाने, एकैपटक पेट कस्सिने गरि नखाने, दिनहुँ दही खाने गरेमा पायल्स हुने सम्भावना कम हुन्छ । यस्तै पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ । 

दुखाई कम गर्ने, नचिलाउने, लठ्याउने र सुन्निन नदिन चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ । दिसा साह्रो भएको वा नियमित दिसा गर्न समस्या छ भने चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । सामान्य अवस्थामा थोरै उपचार गर्नाले पनि रक्तनलीहरु सामान्य अवस्था पुग्छन् ।

इन्जेक्सन लगाएर पायल्सलाई सुकाउन पनि सकिन्छ । तर यस विधिले सबैलाई काम नगर्न सक्छ । पायल्स भएको रक्तनली र त्यस वरपरका कोषहरुलाई निकाल्न पनि सकिन्छ । यो उपचार विधिले धेरैलाई पायल्स निको पार्छ । गुदद्वारमा प्रशस्त रक्तनली हुन्छन्, दैनिक खानपान र व्यवहारमा परिवर्तन गरिएन र जुन कारणले पायल्स भएको हो सो कारण निवारण भएन भने फेरी अर्को रक्तनलीमा पायल्स हुन्छ । त्यसैले हाम्रो दैनिक खानपानमा विशेष ध्यान दिनु जरुरी छ । डा.कल्याण सुवेदी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट