काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उनले पार्टीको कार्यालयको उद्घाटन गरेका हुन् ।
पार्टीको उद्घाटन गर्दै नेता नेपालले आफूहरुले स्वार्थको राजनीति नगर्ने बताएका छन् । त्यस्तै उनले आफ्नो पार्टी कुनै पनि पद प्राप्तिका लागि गठन नभएको बताए ।
कार्यक्रममा बोल्दै उनले भने, ‘कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भएको होइन। देश र जनताप्रति समर्पित हुने हो। यही भावनाअनुसार अगाडि बढ्ने हो ।’
माधवकुमार नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन् । माओवादी केन्द्र, नेकपा (एस)सहित कम्युनिस्ट पार्टीबीच एकता हुन गर्ने भनिएका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।
तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुने बताए । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ छ ।
एकीकृत समाजवादीको पार्टी कार्यालय रहेको घर तीन तले छ। पार्टीका एक नेताका अनुसार भवनको मासिक भदा ३ लाखभन्दा बढी रहेको छ ।