गोरखा- गोरखामा पर्व सुधार गर्ने भन्दै धुमधामका साथ दशैँ मनाइएको छ । हिन्दु धर्मावलम्बीहरूको महान पर्व विजयादशमी आउन एक महिनाअघि नै सिरानचोक गाउँपालिका-५ छोप्रोक आसपासका स्थानीयहरूले दशैँ मनाएका हुन् ।
बिहीबार विद्यालय तथा गाउँमा सामूहिक रूपमा टीका, जमरा लगाएर विजयादशमी मनाइएको मण्डली माविका शिक्षक हरिनारायण श्रेष्ठले जानकारी दिए । ‘यहाँ २०६९ सालदेखि नियमित रूपमा व्राहमण, नेवार तथा अन्य समुदायका मानिसले दशैँ आउनुभन्दा एक महिना पहिले नै टीका लगाउछौं,’ उनले भने, ‘सोही अनुरूप नेवा गुठी छोप्राकको आयोजनामा बजार आसपासका ५९ घरधुरीले टिका र जमरा लगाएर धुमधामसँग दशैँ मनाएका हौं ।’
विगतमा जस्तै यस वर्ष पनि छोप्राक आसपासका सबै विद्यालयमा अभिभावक र विद्यार्थीलाई बोलाएर टीका लगाइएको उनले बताए । बिहीबार सर्वोदय आधारभूत विद्यालय, मण्डली मावि, जनज्योति लगायतका सबै सामुदायिक विद्यालयमा दशैँको टीका लगाएको थियो ।
नेपाली पात्रो अनुसार असोज २१ गते पर्ने घटस्थापना र २९ गते दशैँको टीका भए पनि छोप्राकका स्थानीयले भाद्र १७ गते जमरा राखेर बिहीबार धुमधामका साथ टीका लगाएका हुन् ।