‘हिजो आजका कुरा’ प्रदर्शनको तयारीमा-Sutra News

‘हिजो आजका कुरा’ प्रदर्शनको तयारीमा

शुक्रबार, १ असोज २०७८

शुक्रबार, १ असोज २०७८

काठमाडौं- सामाजिक कथानक फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनका लागि माहौल बनाउन लागि परेको छ । फिल्मका निर्देशक साकार पन्तले शुक्रबार राष्ट्रिय चलचित्र दिवस (असोज १) को अवसरमा सम्पूर्ण चलचित्रकर्मी तथा चलचित्रप्रेमीमा शुभकामना व्यक्त गर्दै आफूहरु फिल्म रिलिज गर्न आतुर रहेको बताएका हुन् ।



प्रदर्शनका लागि सम्पूर्ण तयारी सकेर प्रचारप्रशारलाई तीव्रता दिदैगर्दा ०७६ चैत्र ११ देखि भएको लकडाउनको मारमा परेको ‘हिजो आजका कुरा’ अब छिट्टै नै दर्शकमाझ आउने तयारीमा जुटेको छ ।

‘हामी फिल्म रिलिज गर्न निकै आतुर छौं । त्यसकारण हल संचालक, वितरकहरुसँग छलफल गरिरहेका छौं,’ निर्देशक पन्त भन्छन्, ‘अहिले कोरोना संक्रमण घट्दै गइरहेको र जनजीवन पनि सामान्य बन्दै गइरहेको छ । सरकारले हल खोल्न अनुमति दिइसकेको छ । त्यसकारण अब हामी फिल्म प्रदर्शनको तयारीमा लागेका छौं ।’

चलचित्र विकास बोर्ड, हल संचालक, वितरक, दर्शक, सबैको साथ भएमा चलचित्र क्षेत्र चलायमान गराउनका लागि आफूहरु अघि बढ्न तयार रहेको उनी बताउँछन । उनले केही दिनमै फिल्मको प्रदर्शन मिति तय हुने जानकारी दिएका छन् ।

‘हिजो आजका कुरा’ ०७७ बैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोहीअनुसार प्रचारप्रशार पनि सुरु भइसकेको थियो । तर, कोरोना भाइरसका कारण भएको देशव्यापी लकडाउनले गर्दा अझैसम्म पनि हलहरु संचालनमा आउन सकेका छैनन् ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा वरिष्ठ अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशीत फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त,रिमा विश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्मको ‘माया जदौ’ गीत युट्युवमा अहिलेसम्म झण्डै २ करोड ४० लाख पटक हेरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट