मनाङमा बलिउड चलचित्र छायांकन हुने-Sutra News

मनाङमा बलिउड चलचित्र छायांकन हुने

शनिबार, २ असोज २०७८

शनिबार, २ असोज २०७८

लमजुङ- मनाङमा बलिउड चलचित्र छायांकन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘उचाई’ को मनाङमा छायांकन गरिने भएको हो ।



चलचित्रको छायांकनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकोप्टरबाट केही दिन अगाडि मनाङ पुगेका थिए ।

मनाङमा करिब १० दिन सो फिल्मको छायांकन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो फिल्मको छायांकन गरिने बताइएको छ ।

चलचित्र छायांकनले कोरोनाका कारण थला परेको यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शन पश्चात् मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्ने व्यवसायीहरुको विश्वास छ ।

निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायांकनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् । टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन् ।

दुई दिनको अवलोकनपछि टोली बुधबार नै काठमाडौं फर्किएर सगरमाथा आधार शिविरमा पनि छायांकनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मस्का अध्यक्ष लाइन प्रोड्युसर सुरज अचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट