काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देश र जनताको पक्षमा इमानदारिताका साथ काम गर्ने पार्टी नै माओवादी भएकाले आगामी निर्वाचनमा पहिलो नम्बर बन्ने बताएका छन् । सो पार्टीको चन्द्रागिरि-१ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार, सिद्धान्त र कार्यक्रमका हिसाबले पनि समकालीन अरु दलभन्दा आफूहरू नै क्रान्तिकारी र अग्रगामी भएको बताए ।
उनले समाजवाद स्थापनाको लक्ष्यसहित एमालेसँग आफूहरुले एकता गरे पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जताततै समस्या खडा भएको उल्लेख गरे । माओवादीले अगाडि सारेका नीति तथा कार्यक्रमलाई लिएर जनताको पक्षमा जान र उनीहरुको दुःख, पीरमर्कामा साथ दिन पार्टीका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।
अन्य पार्टीमा अनेकन खालका विग्रह र टुटफुटको अवस्था रहेको भन्दै नेता पौडेलले देश र जनताको पक्षमा उभिने तथा कोही कसैसँग पनि गलत सम्झौता नगर्ने भएकाले माओवादीले पुनः देशव्यापी विजयको झण्डा फहराउने विश्वास व्यक्त गरे । नेता पौडेलले विचार, सिद्धान्तसहित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकाकार भई पार्टीका सबै नेता तथा कार्यकर्ता जनतामा जाने सङ्कल्प गर्नासाथ विजय टाढा नभएको बताए ।