एक करोड ५० लाख जग्गा आँखा उपचार केन्द्रलाई दान-Sutra News

एक करोड ५० लाख जग्गा आँखा उपचार केन्द्रलाई दान

आइतबार, ३ असोज २०७८

आइतबार, ३ असोज २०७८

चितवन- पूर्वी चितवनको खैरहनीस्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीयवासी एक परिवारले जग्गा दान गरेका छन् ।



समाजसेवी जनकबहादुर पाण्डेका छोरा जगतबहादुर पाण्डे, सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले खैरहनी नगरपालिका-८ मा रहेको सात धुर जग्गा नेपाल नेत्रज्योति सङ्घको नाममा हस्तान्तरण गरेका हुन् ।

वडा कार्यालय नजिकै रहेको सो जग्गाको प्रचलित मूल्य रु एक करोड ५० लाख गर्ने जनाइएको छ । लायन्स क्लब अफ चितवन इस्टको व्यवस्थापनमा सञ्चालन हुने गरी विसं २०६५ देखि पर्सामा आँखा उपचार केन्द्र सञ्चालन गरिएको थियो ।

सो केन्द्र स्थापनाकालदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको छ । बिरामीको चाप बढ्दै गएसँगै आँखाको शल्यक्रियासहित अतिरिक्त सेवा प्रदान गर्न सहज होस् भनेर जग्गा उपलब्ध गराइएको हो ।

लायन्स क्लब अफ चितवन इस्टका पूर्वअध्यक्ष एवं उपचार केन्द्रका अध्यक्ष केएन सिलवालका अनुसार सो जग्गा सङ्घका नाममा मालपोत कार्यालय खैरहनीबाट रजिष्टेसन गरिएको छ ।

सो जग्गामा आधुनिक भवन निर्माण गरी जनकबहादुर पाण्डे मेमोरियल आँखा उपचार केन्द्रको नामबाट सञ्चालन गर्नेगरी आवश्यक प्रक्रियासमेत अघि बढाइसकिएको उनले जानकारी दिए ।

लायन्स क्लबका पूर्वअध्यक्ष भीमबहादुर पाण्डेको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको छ । पाण्डेले पहिलो तल्ला आफ्नै परिवारका नाममा बनाइदिने घोषणासमेत गरेको सिलवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट