यी हुन् एमाले स्थायी कमिटी बैठकका निर्णयहरू-Sutra News

यी हुन् एमाले स्थायी कमिटी बैठकका निर्णयहरू

आइतबार, ३ असोज २०७८

आइतबार, ३ असोज २०७८

काठमाडौं- नेकपा (एमाले) ले विधान महाधिवेशनका लागि तीन वटा प्रस्तावमाथि छलफल गरेको छ । तुल्सीलालस्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा विधान संशोधन, राजनीतिक र सांगठनिक प्रस्तावमाथि छलफल भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।



‘विधान संशोधन सम्बन्धी, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको कार्यदिशा, समग्र कामको मूल्यांकन, पार्टीका आगामी कार्यभारहरू समेटिएको राजनीतिक प्रतिवेदनको प्रस्ताव, नवौं महाधिवेशनदेखि अहिलेसम्म आइपुग्दा उपलब्धिहरू, कमजोरी तथा प्राप्त शिक्षा र आगामी दिनमा हाम्रो पार्टी कमिटी, सिंगो संगठन, जनवर्गीय संगठन र प्रवासका काम व्यवस्थित गर्ने सम्बन्धमा संगठनात्मक प्रस्ताव पनि पेस गरिएको छ,’ बैठकपछि उनले भने ।

ती प्रस्तावमाथि स्थायी कमिटी सदस्यले सुझाव राख्ने प्रक्रिया सुरु भएको नेता भट्टराईले जानकारी दिए । उनका अनुसार आजको बैठकमा युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, पुष्प कँडेललगायतले प्रस्तावमाथि सुझाव राखेका थिए । उनले सोमबार बस्ने बैठकमा स्थायी कमिटी सदस्यले दिएको सुझावको आधारमा प्रस्तावलाई परिमार्जनसहित पारित गरिने बताए ।

अर्को बैठक सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । पारित गरिएको प्रस्तावलाई ८-९ असोजमा हुने केन्द्रीय कमिटी बैठकमा पेस गरिने छ । ती प्रस्तावमाथि केन्द्रीय कमिटीबाट पनि आएको सुझावको आधारमा विधान महाधिवेशनमा पेस गरिने उनले बताए । एमालेको विधान महाधिवेशन यही १५ असोजदेखि १७ असोजसम्म गोदावरीमा हुने भएको छ । फाइल तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट