संविधान बचाउन माओवादी शक्तिहरू एक हुनुपर्छः प्रचण्ड-Sutra News

संविधान बचाउन माओवादी शक्तिहरू एक हुनुपर्छः प्रचण्ड

आइतबार, ३ असोज २०७८

आइतबार, ३ असोज २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधान विरोधीहरूको षडयन्त्रलाई परास्त गर्नका लागि माओवादी शक्तिहरू एक हुनुपर्ने बताएका छन् । जसपा र एमालेबाट माओवादी केन्द्रमा आएका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



उनले भने, ‘सबै विगतका माओवादी आन्दोलनमा रहेका साथीहरु एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको छ । अहिले नआउने पनि अलिपछि आउनुहुन्छ ।’ उनले माओवादी आन्दोलन र यसले उठाएका एजेण्डाहरूलाई राष्ट्रिय रुपमा फेरि नयाँ उचाईंबाट स्थापित गर्ने र यो आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने रूपमा विकास गर्ने अवसर आफूहरूमा रहेको उनको भनाइ थियो ।

उनले भने, ‘समाजवादी क्रान्तिलाई माक्र्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रुपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ । एक चोटी राष्ट्रलाई झक्झक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ । सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ । त्यसकारण सबै क्रान्तिकारीहरूले अब ढिलो नगरी एकतावद्ध हुने, केन्द्रित हुने र आत्मसमिक्षा सहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ ।’

‘हिजो संसद विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसीसी मार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्,’ उनले भने, ‘हामीले गठबन्धनमा एमसीसी र गठबन्धनमा कुन मुख्य हो भनेर छलफल पनि गरेका छौं । गठबन्धन रक्षा नै राष्ट्र, संविधान र गणतन्त्रको हितका लागि मुख्य हो । एमसीसी परिमार्जन र संशोधन बिना पास गर्न सकिन्न र राष्ट्रिय सहमति नबनाई यस्तो डरलाग्दो कुरामा हात हाल्न पनि हुन्न ।’

उनले अगाडि भने, ‘पार्टी आन्दोलनको भावी विकासको निम्ति धेरै नै महत्वपूर्ण अनुभव र ज्ञान सगालेर आउनुभएको छ । आन्दोलनको विकासको क्रममा अभिभावकत्व गरिसकेपछि र त्यसलाई सिंगो कम्युनिस्ट पार्टी र जनताले अभिभावकको रूपमा स्वीकारे पछि त्यो आन्दोलनका कोही पनि सहयात्री दायाँबायाँ हुँदा बुझाउन र सम्हाल्न सकिएन भन्ने पीडा हुँदो रहेछ । अनुभव र ज्ञानसहित पुनर्मिलनमा आएको देख्दा भने सबैभन्दा खुसी अभिभावकलाई हुने रहेछ । यो पार्टी प्रवेशले बलियो सन्देश दिएको छ । तपाईंहरुले जिम्मेवारीको चिन्ता नलिनु होला ।’

सो अवसरमा विगतमा माओवादी छोडेर अन्य विभिन्न पार्टीमा गएका र फर्किएपछि के अनुभूति भयो भन्ने पनि आफ्नो धारणा राखेका थिए । उनीहरुले आफूहरुबाट नेतृत्वलाई बुझ्ने सवालमा कमजोरी भएको र अहिले ब्यूँझिएपछि आफूहरु माओवादीको मूल प्रवाहमा समाहित हुन आइपुगेको बताए ।

यसरी प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद सदस्य रमेश रेग्मी (चितवन), नेकपा एमाले केन्द्रीय परिषद् सदस्य प्रल्हाद लामिछाने (मकवानपुर), जसपा प्रदेश समिति सदस्य प्रकाश पोखरेल (चितवन), जसपा जिल्ला सचिवालय सदस्य रामपुकार पाठक (चितवन), प्रेम शर्मा (सिन्धुपाल्चोक), कृष्ण कार्की (मकवानपुर) सुजन कुमार थापा (मकवानपुर), रवीन्द्र मोक्तान (मकवानपुर), प्रेम वाइवा (मकवानपुर) शुसील ओली (दैलेख) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट