जनगणनाका लागि ५४ जना सुपरिवेक्षक बाजुराका गाउँ-गाउँमा-Sutra News

जनगणनाका लागि ५४ जना सुपरिवेक्षक बाजुराका गाउँ-गाउँमा

आइतबार, ३ असोज २०७८

आइतबार, ३ असोज २०७८

बाजुरा- राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरिवेक्षक बाजुराका गाउँ-गाउँमा पुगेका छन् । उनीहरूले घर-घरमा पुगेर घर परिवारको सूचीकरण फारम भर्ने काम गर्न थालेका छन् ।



सूचीकरणका लागि जिल्लाभर ५४ जना सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख एवं जिल्ला जनगणना अधिकारी कर्णबहादुर क्षेत्रीले जानकारी दिए । गएको २७-२८ भदौमा तालिम लिएका सुपरिवेक्षक ३० भदौदेखि १८ असोजसम्मका लागि समुदायस्तरमा पुग्ने जनाइएको छ ।

१८ असोजसम्म संचालन हुने पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना हुनेछ । गत ३० भदौदेखि गाउँगाउँमा सुपरिवेक्षक परिचालन गरिएको छ । सुपरिवेक्षकलाई तथ्यांक संकलन सुरु गर्ने गरी ३० भदौमै पठाइसकेको जनगणना अधिकारी क्षेत्रीले बताए ।

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्यांक संकलनको काममा भने केही अवरोध सिर्जना हुने बताइएको छ । सुपरिवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए/नपाएको लगायत २० वटा प्रश्न सोध्ने काम पहिलो चरणमा गर्ने भएका छन् ।

सुपरिवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्यांक संकलन गर्नुपर्ने जिम्मेवारी रहेको छ । बाजुरामा इन्टरनेटको प्रभावकारी पहुँच नहुँदा काममा केही समस्या भने आउने देखिएको छ । पहिलो चरणमा संकलन गरिएको तथ्यांकका आधारमा मूल गणना गरिनेछ ।

मूल गणना आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म जारी रहनेछ । नेपालमा प्रत्येक १०-१० वर्षमा जनगणना गरिन्छ । यसपालिको जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना, २०७८’ रहेको छ । वि.सं. २०६८ को जनगणनाअनुसार यस जिल्लाको जनसंख्या एक लाख ३६ हजार ९१२ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट