झापा- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको हो ।
कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिए । ‘सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन गरियो’, उनले भने, ‘विधि र प्रक्रिया बाँकी छ । असोज ९ गते उहाँलाई आधिकारिक सभापति भएको घोषणा गर्छौं ।’
सो गाउँपालिकाको सबै सात वडामा यसअघि सर्वसम्मत वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको छ । आदिवासी मधेशी समुदायको बाहुल्य सो पालिकामा गणेशको नेतृत्वमा गाउँ कार्य समिति नै सर्वसम्मत भएको कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।
गणेशका नेतृत्वमा चयन भएको गाउँ कार्य समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल, सचिवमा सञ्जय गणेश र प्रताप विश्वकर्मा र सहसचिवमा सफिउल्ला अन्सारी छन् ।
पार्टीका जिल्ला सभापति थापाले अन्य पालिकाले नेतृत्व चयनका लागि झापा गाउँपालिकाबाट शिक्षा लिनुपर्ने बताए । गाउँ सभापति सर्वसम्मत भएको उनी यसअघि क्षेत्रीय सदस्य रहेका थिए । पालिकामा २५६ क्रियाशील सदस्य छन् ।
जिल्लामा १५ पालिका छन् । अन्य पालिकामा गाउँ तथा नगर सभापतिका लागि हरेक पालिकामा तीनभन्दा बढी आकांक्षीले उम्मेदवारी घोषणा गर्दै मत मागिरहेका छन् । झापा गाउँपालिकामा वडा तहको निर्वाचनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाका सभापतिको संयुक्त भेलामा गाउँ सभापति पदमा गणेशको एक मात्र नाम आएको थियो ।
सर्वसम्मत गाउँ सभापति चयन भएको गणेशले २०४६ सालदेखि पार्टीमा क्रियाशील भएको र २०४८ सालमा क्रियाशील सदस्यता पाएको बताए । उनले आफू कुनै गुटमा नलागेको जनाउँदै आम कार्यकर्ताले सर्वसम्मत गाउँ कार्य समिति चयन गरेर पार्टी एकढिक्का भएर सहमतिमा अघि बढेको सन्देश दिन चाहेको बताए ।
झापा गाउँपालिकाबाट उत्साहित जिल्लास्तरीय नेताहरु अन्य नगर तथा गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्न सकिन्छ कि भनेर दौडधुप गरिरहेका छन् । जिल्लामा १३१ वडामा एक जना पनि महिला सभापति पार्टीले निर्वाचित गराउन सकेन । हालसम्म गाउँ तथा नगरस्तरमा समेत पुरुषले आकांक्षा देखाइरहँदा एकजना महिलाले पनि सभापतिमा दाबी गरेको देखिँदैन ।