काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आजको बैठकमा सत्ताधारी दलले प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच संसदबाट पेलेरै बजेट (प्रतिस्थापन विधेयक) पारित गर्ने तयारी गरेको छ ।
संसद् सचिवालयका अनुसार, सोमबार संसद्को विनियोजन विधेयकमा मतदान हुने सम्भावना छ ।
तर सभामुखको भूमिकाको विषयलाई लिएर नेकपा एमालेले बारम्बार संसद अवरुद्ध पार्दै आएको छ । त्यसैले आज पनि एमालेले संसद अवरुद्ध पार्ने तयारी गरेको छ ।
एमालेसँग संवाद गर्न सभामुख अग्निप्रसाद सापकोटा तयार देखिएका छैनन् । यसले एमाले सभामुखप्रति झनै रुष्ट बन्दै गएको छ ।
एमालेले १४ सांसदमाथिको कारबाहीलाई आफ्नो बटमलाइन बनाएकाले आज पनि संसद्मा एमालेको अवरोध कायमै रहने देखिन्छ । तर सत्तारूढ दलले अहिलेसम्म संसद्को अवरोध हटाउन ठोस कदम चालेको छैन । अवरोधकै बीच पेलेरै बजेट पास गराउने मुडमा सरकार देखिएकाले आज पनि संसद्मा मुठभेडको खतरा देखिएको छ ।