काठमाडौं- नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आज मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एमालेबाट विभाजन भएर गठन भएको माधव नेपाल नेतृत्वको नेकपा एसले राजनीति तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, फेरि गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ ।
बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमासमेत छलफल हुनेछ ।
उक्त बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्नेछ । बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । सङ्गठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा सो पार्टी रहेको छ ।