काठमाडौँ । सर्वोच्च अदालतको परमादेशबाट गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
उनले अहिलेसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्दा सत्ता गठबन्धनका नेताहरुले आलोचना गर्न सुरु गरिसकेका छन् । चौतर्फी आलोचना खेप्दै आइरहेका बेला सत्तारूढमध्येको एकघटक जसपाले भने मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत देखिएको छ ।
प्रधानमन्त्री देउवाले सोमबार संसद् भवनबाट बाहिरिँदै गर्दासमेत सरकार विस्तार छिट्टै हुने प्रतिक्रिया दिएका थिए । उनले सो विषयमा सत्ता गठबन्धन दलहरूसँग संवाद भइरहेको प्रतिक्रिया दिएका थिए ।
‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, गठबन्धन आबद्ध दलबीच संवाद हुँदै छ,’ प्रधानमन्त्री देउवाले सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग भने ।
मन्त्री छनोट गर्ने जिम्मा संसदीय दलका नेताहरुले पाएका छन् । तर पार्टीभित्र भाउ पुर्याउन नसक्दा उनीहरुले अझै पनि मन्त्रीको नाम दिन सकेका छैनन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समजवादीका नेता माधवकुमार नेपाल तथा जनता समाजवादीका नेता उपेन्द्र यादवले छिट्टै नै मन्त्रिपरिषद विस्तार हुने भनेर संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै आएका छन् । तर आन्तरिक रुपमा भागबण्डा नमिल्दा र अध्यादेशका कारण मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
सत्ता गठबन्धनका नेताहरुले मन्त्रीको क्वार्टर कुरेर बसिरहेका छन् । मन्त्री छिट्टै नै हुने आशामा रहेका छन् । तर प्रधानमन्त्री शेराबादुर देउवाले संकेत नदेखाउँदा उनीहरु निराश छन् ।