अनेरास्ववियूको नेतृत्व चयन अवैधानिक भएको दावी-Sutra News

अनेरास्ववियूको नेतृत्व चयन अवैधानिक भएको दावी

मंगलबार, ५ असोज २०७८

मंगलबार, ५ असोज २०७८

अनेरास्ववियूको नेतृत्व चयन अवैधानिक भन्दै ठूलो पंक्तिले आक्रोस र असन्तुष्टि व्यक्त गरेको छ । पार्टी फुटेको समयमा अवैधानिक रुपमा नयाँ नेतृत्व चयनकै कारण एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुभित्रको घरझगडा उच्चतम् विन्दुमा पुगेको स्रोत बताउछ छ । विद्यार्थी नेताहरुबीचको असन्तुष्टिले २०७८ असोज २ गते चयन भएकी अध्यक्ष सुनिता बरालको सपथ ग्रहण नै प्रभावित हुने स्थिति पैदा भएको छ ।  ९९९  राष्ट्रिय परिषद, ४६५ केन्द्रीय कमिटी, २३२ को सचिवालय र ३२ सदस्यीय पदाधिकारी निर्माण गरियो भन्दै अनेरास्ववियु पुनर्गठन घोषणा गरिएको थियो ।



एमाले अध्यक्ष केपी ओलीको समेत उपस्थितिमा बराललाई एक्कासी अध्यक्ष बनाउने निर्णय भएको थियो । विद्यार्थी संगठनको केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष ऐन महरले राजीनामा दिएपछि बराललाई अध्यक्ष बनाइएको हो ।

आउँदो २०७८ चैतमा महाधिवेश गर्ने र त्यतिबेलासम्मका लागि बराललाई अध्यक्ष बनाउने निर्णय भएको हो । तर, बरालको अध्यक्ष चयन प्रक्रियादेखि उनको योग्यतामाथि गम्भीर प्रश्न उठाएर अखिलका नेताहरु विरोधमा उत्रिएका छन् । अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेलदेखि शंकर पोखरेलसम्म डेलिगेशन गएर तीव्र असन्तुष्टि जनाएको खबर ।

सुनितालाई अध्यक्ष बनाउन अध्यक्ष केपी ओली र पूर्वका नेताहरुको बढी नै सक्रियता देखिएको स्रोत बताउछ । अखिलका पूर्व नेताहरु भानुभक्त ढकाल, हिक्मत कार्की, विनोद ढकाललगायतका नेताहरुले सुनितालाई अध्यक्ष बनाउने अभियान चलाएका थिए । उनीहरुले नै अध्यक्ष केपी ओलीसलाई सहमत गराएका थिए । सुनिता आफै पनि झापाको भएका कारण पहिलादेखि नै अध्यक्ष ओलीले अखिलको नेतृत्व सुम्पिने मनस्थिति बनाएकाे चर्चा पनि चलेकाे  थियाे ।  तर एमाले अखिलभित्र वैचारिक रुपमा बलियो नेतामा रश्मी आचार्य देखिएका थिए । धेरैले आचार्यलाई अध्यक्ष बनाउनुपर्ने तर्क पनि गरेका थिए । आचार्यको पक्षमा पूर्वअध्यक्ष नविना लामा पक्षको पनि समर्थन थियो ।

पूर्वसहमति अनुसार, एमालेमा २०७५ जेठ २ गते कै अवस्था कार्यान्वयन भएको भए नविना स्वयम् अध्यक्ष हुने स्थिति थियो । तर, २ जेठ २०७५ लागू नभएपछि नविना अध्यक्ष हुन सकिनन् उनले रुचाएका आचार्य पनि उपाध्यक्षबाट नै विदा हुने स्थिति आयो । आचार्यसहित, शैलेश लामा र महेश वर्तौला पनि अखिलबाट जबर्जस्ती विदा भएका छन् ।

असन्तुष्ट अखिलका नेताहरुको भनाइमा केही समयअघि आरसी लामिछानेलाई अध्यक्ष बनाउने तयारी भएको थियो । महासचिव ईश्वर पोखरेलनिकट लामिछानेलाई अध्यक्ष बनाउन अध्यक्ष ऐन महर र उपाध्यक्षहरु विदा हुने गरी अखिलको पुनर्गठन गर्ने तयारी भएको थियो । हार्दिक होटलमा अखिलको स्थायी समिति बैठकले सहमति पनि जुटाएको थियो । तर, पूर्वका नेताहरुसहित अध्यक्ष केपी ओलीको समेत चाहना लामिछानेभन्दा पनि झापाली सुनितालाई बनाउने देखिएपछि महरले त्यही बेला अध्यक्षमा सुनितालाई अगाडि सारेर बाँकी पदाधिकारी र केन्द्रीय समिति भने आफ्नो अनुकूल बनाएका छन् ।

४ सय ६५ सदस्यीय केन्द्रीय समितिको २०३ जनाको सचिवालय कमिटी बनाएको छ ।  त्यसैगरी, ११ जना उपाध्यक्ष बनाइएको छ । ती उपाध्यक्षहरु कुन विधान र के आधारमा कसरी र कुन मापदण्डमा बनाइएको भन्ने प्रष्ट छैन । आफूले अगाडि बढाउनुपर्ने मन लागेका नेताहरुले दिएका सूचीका आधारमा पदाधिकारी बनाइएको आरोप छ । उपाध्यक्षपछि ५ जना उपमहासचिव बनाइएको छ ।

स्रोतका अनुसार, हार्दिक होटलमा भएको बैठकमा उपमहासचिव बनाउने सहमति भएको थिएन । तर, बैठकमा एक्कासी प्रस्ताव आएर पारित भएको छ । स्रोत भन्छ, महरले एक्कासी प्रस्ताव ल्याएपछि अध्यक्ष केपी ओली समेत सहभागी बैठकमा विद्यार्थी नेताहरु बोल्न नै सकेनन् ।

जिम्मेवारी दिने क्रममा पनि योग्यता र क्षमताको कदर नभएको दावी अखिलका नेताहरुको रहेको छ । प्रदेश २ को इञ्चार्ज जुनियर विद्यार्थी नेतृलाई दिएको र वागमती प्रदेशको इञ्चार्ज सुदूरपश्चिम बझाङका पंकज भण्डारीलाई दिएका छन् । त्यसैगरी, रुपन्देहीबाट मात्रै ७ जना नेताहरुले पदाधिकारीको जिम्मेवारी पाएका छन् । 

रुपन्देहीबाट एकजना उपाध्यक्ष र ३ जना  सचिव नै भएका छन् । पार्टीका उपमहासचिव पौडेल र विद्यार्थी इञ्चार्ज खिमलाल भट्टराईको प्रभावले एउटै जिल्लाबाट ७ जना परेको अखिलका नेताहरुको भनाइ छ । अनि सुदूरपश्चिमबाट पदाधिकारीमा एकजना पनि परेका छैनन् । प्रदेश २ बाट मधेशी मूलका एकजना पनि उपाध्यक्ष छैनन् ।

समावेशी बनाउने कुरामा पनि अहिलेको अखिलको कमिटीले ध्यान नदिएको असन्तुष्टहरु बताउछन् । त्यसैले नविना लामानिकट कनिष पटेल, धर्म गिरी, कमल ढुंगाना, श्याम प्रजापतिसहित दर्जन विद्यार्थी नेता चर्को विरोधमा देखा परेका छन् ।

अहिले देशभरबाट करिब १ सय २० भन्दा बढी केन्द्रीय सदस्य अखिलको निर्णयविरुद्ध उभिने खतरा देखिएको छ । नविना लामाले त एमाले अखिलमा चरम गुटबन्दी र अन्याय गरिएको भन्दै आक्रोश व्यक्त गर्दै फेसबुक स्ट्टास लेखेकी छिन् ।

एमाले अखिलमा पूर्वका नेताहरुले सुनितालाई अध्यक्ष बनाउन सफल भएझै नेता गोकुल बास्कोटाले भने आफ्नै जिल्ला काभ्रेबाट महासचिवमा समिप बडाल र कोषाध्यक्ष जेनिश लामालाई बनाउन सफल भएका छन् । एउटै जिल्लाबाट दुईजना मुख्य जिम्मेवारी भएको भन्दै अर्को असन्तुष्टि पनि व्यक्त गरिदैछ । साँघुन्यूज

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट