काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीले छोटो तर गतिशील जीवन बाँचेको स्पष्ट पारेका छन् । मदन भण्डारीबारे लेखिएको किताबको मंगलबार काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । ०४६ सालमा मालेको चौथो महाधिवेशनमा मदन भण्डारीले सामन्ती सत्ता ढाल्नका लागि सदनको ठूलो दल नेपाली कांग्रेसलाई पनि कम्युनिस्टसँग एकजुट बनाउन भण्डारीले भूमिका खेलेको ओलीले स्मरण गरे ।
‘अलेक्जेन्डर, सिकन्दरजस्तै मदन भण्डारीले पनि थोरै आयु बाँच्नु भो तर उनीहरूले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका छन्,’ ओलीले भने, ‘मदन भण्डारीले गतिशीलताका साथ काम गर्नु भयो । नेपाली कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याइउनुमा मदन भण्डारीको ठूलो योगदान छ ।’ राजनीतिक दलमा महिलाको ३३ प्रतिशत उपस्थितिलाई मदन भण्डारीले जोडतोडका साथ उठाएको ओलीले स्मरण गरे ।
‘पुराना शब्दावली घोकेर तिनको उच्चारण गरेर समाज परिवर्तन हुँदैन । समय र परिस्थितिअनुसार नयाँ विचार आउँछ, नयाँ विचार युगको आवश्यकताले जन्माउँछ,’ उनले सोमबार बसेको एमालेको स्थायी कमिटीमा उपमहासचिव घनश्याम भुसालले एमालेमा नयाँ विचार आवश्यक रहेकोतर्फ गर्दै ओलीले भने, ‘एसो घोप्टिएर सोच्दैमा नयाँ विचार आउँदैन ।’
सोही कार्यक्रममा पूर्ववक्ता नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानाथ ढुंगानाले प्रजातान्त्रिक दलको विपरीत कम्युनिस्ट दलले शक्ति केन्द्रित गरेकाले कम्युनिस्ट दल फुटेको टिप्पणी गरेका थिए । त्यसको जवाफ दिँदै ओलीले भने, ‘मलेसियामा महाथिर, सिंगापुरमा लि क्वान यूले पनि शक्ति केन्द्रित गर्नु भएको थियो । शक्ति केन्द्रित गर्दैमा पार्टी फुट्दैन । जब पार्टीलाई व्यक्तिमा केन्द्रित गर्न खोजिन्छ तब पार्टी फुट्छ । हामी दुनियाँको ठेक्का लिँदैनौं हामी हाम्रो लोकतन्त्रका लागि संघर्ष गर्छौं । भारतमा पनि स्थानीय तहमा पञ्चायत छ, त्यो केन्द्रीय सरकारकै रूप हो । तर नेपालमा त स्थानीय तहमा सरकार छ, यो कसरी शक्ति केन्द्रित हो रु’
अहिले विकसित अवस्थामा रहेको नेपालको कम्युनिस्ट आन्दोलनलाई झापा आन्दोलनले साथ दिएको ओलीको दाबी छ । ‘अहिलेजस्तो ग्यास र बिजुलीको सुविधा त्यतिबेला थिएन । दर्शन ढुंगा ठोकेर झिकेर झापामा झिल्का निकालिएको थियो, त्यो झिल्कालाई त्यतिबेलै निभाउने प्रयास गरियो । जेलबाट निकालेर सुखानीको जंगलमा लगेर गोली ठोकियो, यो मानव अधिकारविपरीत छ,’ उनले भने, ‘यस्ता दमनहरूसँग जुधेर नेपालको कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याइयो । जसमा मदन भण्डारीको नयाँ विचार र सोचको महत्त्वपूर्ण भूमिका छ ।’ फाइल तस्बिर ।