काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
बैठकमा पार्टीलाई प्रभावशाली ढंगबाट देशभर संगठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक राजनीतिक विषयवस्तुलगायतका विषयमा आवश्यक रणनीति तयार गर्नेबारे छलफल हुने पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल गरेर बुधबारको बैठकमा समूहगत निष्कर्ष प्रस्तुत हुने बताए । नेकपा एमालेबाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो । त्यस्तै बैठकको सुरुमा नै सदस्यहरूलाई शपथ गराइएको खतिवडाले बताए । उनले बुधबार नै आवश्यक निर्णय गरेर बैठक सम्पन्न हुने जानकारी दिए ।
त्यसअघि बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष नेपालले एमाले दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी बनाएको तर्क गरे ।
उनले पार्टी विभाजनपछि आफूहरू सुदूरपश्चिम र प्रदेश २ मा ठुलो दलको उभिएको दाबी गरे । नेपालले आफ्नो दल यथास्थितिवादी पार्टी नभएको र राष्ट्र पुँजीलाई जोड दिन चाहेको बताए । समावेशीताको मान्यतामा पार्टी अघि बढ्ने र काम गर्नेलाई प्रोत्साहन गर्ने उनले बताए ।
हालसम्ममा देशका ५५ जिल्लामा कार्यसमिति गठन भएको खतिवडाले जानकारी दिए । सो पार्टीको कार्यसमितिमा हाल १ सय १३ केन्द्रीय सदस्य छन् ।