काठमाडौं- असोज नेकपा एकीकृत समाजवादीको पदाधिकारी र केन्द्रीय कमिटीमा सदस्य थप गर्नेबारेमा छलफल सुरु भएको छ ।
मंगलबारदेखि सुरु भएको बैठकमा आज पार्टी अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन पारित भएसँगै पदाधिकारी र केन्द्रीय कमिटीमा थपिनेबारेमा छलफल सुरु भएको हो ।
केन्द्रीय सदस्य दिलु पन्तले राजनीतिक प्रतिवेदन पारित भएसँगै पदाधिकारी र केन्द्रीय कमिटीमा थप गर्नेबारे छलफल सुरु भएको जानकारी दिइन् ।
पदाधिकारीमा मुकुन्द भुसाल, जगन्नाथ खतिवडा, वेदुराम भुसाल, गंगालाल तुलाधर, राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायतका नेता रहेका छन् ।
पार्टीमा २५१ केन्द्रीय सदस्य हुने भनिए पनि अहिले ११५ जना मात्र रहेका छन् । पार्टीको चालू बैठकले १३६ जना केन्द्रीय सदस्य थप्नेछ ।
यस्तै, बैठकले ७७ जिल्लाका जिल्ला इन्चार्ज पनि तोक्ने र पार्टीको तीन महिने कार्ययोजनासमेत बनाउने भएको छ । बैठक भोलि पनि बिहान ११ बजे बस्ने बताइएको छ ।