ताप्लेजुङ- ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली प्रस्थान गरेको छ । विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको आरोही टोली त्यसतर्फ प्रस्थान गरेको हो । कोभिड-१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको दुई वर्षभन्दा बढी समयपछि कुम्भकर्ण आरोहणका लागि विदेशी पर्यटक आएका हुन् ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण (७७१० मिटर उचाइ) हिमाल आरोहण गर्न दुई जना अमेरिकी नागरिकसहित आरोहण टोली त्यसतर्फ गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद कार्यालयले जनाएको छ ।
परिषद् कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाका अनुसार यसै साताको शनिबारदेखि कुम्भकर्ण आरोहण गर्ने योजनाका साथ उक्त टोली सोमबार घुन्सादेखि अघि बढेको छ । आरोही टोली घुन्सादेखि खम्बाचेन र कुम्भकर्ण आधार शिविर हुँदै हिमाल आरोहणमा पुग्ने शेर्पाले बताए । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सालाई कुम्भकर्ण तथा कञ्चनजंघा हिमाल प्रवेशद्वारको रूपमा लिने गरिएको छ ।
यता यो सिजनमा दुईजना अमेरिकीसहित पाँचजना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । पर्यटन विभाग पर्वतारोहण शाखाकी निर्देशक मीरा आयार्चका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएबापत एक लाख ७६ हजार रुपियाँ रोयल्टी रकमसमेत संकलन भएको छ । विभागका अनुसार दुई वर्षयता अर्थात कोरोना महामारी सुरु भएपछि कुम्भकर्ण हिमाल आरोहणका लागि कसैले पनि अनुमति लिएका थिएनन् ।
तथ्यांकअनुसार विक्रम् संवत् २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कम्भकर्ण हिमालको सफल आरोहण गरेका थिए । त्यसयता समय समयमा कुम्भकर्णको आरोहण हुँदै आएको भए पनि कोरोना महामारीपछि ठप्प भएको थियो । महामारी सुरु हुनुअघि २०७६ सालको सिजनमा दुई जना विदेशी नागरिकले कुम्भकर्णको सफल आरोहरण गरेको पर्यटन विभागले जनाएको छ ।
यस्तै ताप्लेजुङमै रहेको कञ्चनजङ्घा हिमाल अरोहण गर्न यो सिजनका लागि तीन जना विदेशीले अनुमति लिएका पनि पर्यटन विभागले जनाएको छ ।