काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तेस्रो धार मानिएका नेताहरुले बैठक बहिष्कार गर्ने संकेत गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे प्रस्तावमा असमानता देखाउन खोजेको भन्दै उनीहरुले बहिष्कार गर्ने संकेत गरेका हुन् ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा उनीहरुले यस्तो चेतावनी दिएका हुन् । बैठकको सुरुमै नेता भीम रावलले १० बुँदे प्रस्तावको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको भूमिकामाथि प्रश्न उठाएका थिए ।
केन्द्रीय सदस्यहरुले एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पष्ट पार्नुपर्ने तेस्रो धारका नेताहरुको माग रहेको छ ।
नेता भीम रावलले ओलीले असमानताको स्थिति पैदा गर्न लागेको बताएका थिए । ‘एकताको जगलाई कमजोर बनाउँदै असमान स्थिति पार्टीभित्र किन पैदा हुन खोज्दैछ ?’ रावलको प्रश्न थियो ।
त्यस्तै भीम रावल निकटका नेता झपट रावलले पनि १०बुँदे सहमति कार्यान्वयन नगरेर अध्यक्ष केपी ओलीले पार्टीभित्र असमानताको स्थिति पैदा गरेको आरोप लगाएका थिए ।
एमालेमा तेस्रो धारका नेताहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । उनीहरु एमाले विभाजन हुनु भन्दा अगाडी माधवकुमार नेपालको पक्षमा उभिएका थिए तर विभाजनपछि एमाले एकता भन्दै ओलीको साथ छाडेका थिएनन् ।