काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो असन्तुष्टिका बारेमा आफू अहिल्यै केही नबोल्ने अडान राखेका छन् । उनले मौनताको अर्थ रहने भन्दै अहिले केहि नबोल्ने तर समय आएपछि आफू बोल्ने बताएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार रावलले पार्टीको केन्द्रीय कमिटी बैठक चलिरहेको बेलामा नेताहरुसँग छलफल गर्दै यस्तो बताएका हुन् ।
सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयलाई लिएर नेता रावल र ओलीको सम्बन्धमा दरार सिर्जना हुन थालेको नेताहरुले बताउँदै आएका छन् । भीम रावलले आफू एमालेको सुदूरपश्चिमको इन्चार्जमा दाबी गरेपनि अध्यक्ष ओलीले लेखराज भट्टलाई नै इन्चार्जको जिम्मेवारीमा बस्नुपर्ने बताएका थिए ।
आगामी विधान महाधिवेशनका लागि प्रस्तावित राजनीतिक, संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रतिवेदनमा छलफल गर्न प्रदेश र विभिन्न विभागीय गरी १० वटा समूह बनाएको थियो । समूहगत छलफलका क्रममा नेताहरूले उमेर हद र पदाधिकारी अवधिका विषयमा सुझाव दिएका थिए ।
पार्टीमा पुराना पुस्ताको वर्षौंदेखिको ववर्चस्वले नयाँ पुस्ताले अवसर नपाएको सुझाव समूहगत छलफलमा आएको थियो । ७० वर्षे उमेर हद र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय सदस्यले जोड दिएका छन् ।
केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि जारी छ । एमालेको विधान राष्ट्रिय महाधिवेशन १५–१७ असोजमा हुने मिति तय गरिएको छ ।