भगवान शिव भन्ने बित्तिकै तपाईंलाई एउटा स्वरुपको याद हुन्छ । हातमा त्रिशुल लिएका, बाघको छाला बेरेका, शिरमा चन्द्रमा र गंगासहित नागको माला लगाएका ।
धर्मग्रन्थहरूमा भगवान शिवको जुन स्वरुपको वर्णन गरिएको छ त्यो निकै आश्चर्यजनक छ ।
के तपाईंले कहिल्यै सोच्नु भएको छ ? शिवजीले बाघको छाला किन लगाए ? जति पनि तपाईंले तस्वीर देख्नु भएको छ त्यसमा शिवजी कि त बाघको छाला लगाएको अवस्थामा वा बाघको छालामाथि बसेको अवस्थामा देख्नु भएको छ ।
आखिर शिवजीले किन बाघको छाला लगाए ? यो प्रश्नको जवाफ शिव पुराणमा पाउन सकिन्छ । जसमा भगवान शिव र बाघसँग सम्बन्धित प्रसंग रहेको छ ।
पौराणिक कथाअनुसार भगवान शिव एक पटक ब्रह्माण्डको भ्रमणका क्रममा एक जंगलमा पुगे । जहाँ ऋषि मुनिको बासस्थान थियो, ऋषिमुनि परिवारसँग बस्थे ।
यो जंगलमा भगवान शिव निर्वस्त्र घुम्थे । शिवजी यो कुराबारे जानकार थिएनन् कि उनले बस्त्र पहिरिएका छैनन् ।
भगवान शिवको आकर्षक शरीर देखेर ऋषिमुनिका पत्नीहरू भगवान शिवप्रति आकर्षित भए ।
सबै काम छोडेर ऋषि पत्नीहरू शिवजीको पछि लाग्न थालेपछि ऋषिहरू तनावमा परे र उनीहरू शिवसँग क्रोधित भए । तर उनीहरूले निवस्त्र हिँड्ने भगवान शिव हुन् भन्ने चिनेनन् ।
त्यसपछि ऋषिहरूले निर्वस्त्र व्यक्तिलाई सजाय दिने उपाय रचे ।
ऋषिहरूले वनमा एउटा ठूलो खाल्डो खनेर शिवजीका लागि पासो थापे । उक्त पासोमा शिवजी परे ।
त्यो गहिरो खाल्डोमा ऋषिहरुले एउटा बाघ पनि हालिदिए ताकि त्यसले ति निर्वस्त्र व्यक्ति(शिवजी)लाई खाओस् ।
तर त्यस्तो भएन । खाल्टोबाट ति निर्वस्त्र व्यक्ति बाघको छाला बेरेर निस्किए । बाघलाई मारेर शिवजीले छाला धारण गरे । त्यसपछि मात्र ऋषिहरूले ति समान्य व्यक्ति नभएको थाहा पाए ।
त्यसदिनदेखि भगवान शिवजीले बाघको छाला लगाउने वा त्यसमाथि बस्ने गरेको शिव पुराणमा उल्लेख छ ।