काठमाडौं- माधव नेपालनिकट नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेल उनको साथ छाडेर एमालेमै रहने भएका छन् । नेकपा एकता एकता भंग भई एमाले ब्युँतिएपछि माधव नेपालसँगै समानान्तर कमिटीमा आबद्ध पौडेल पार्टी विभाजनको एक महिनापछि एमालेमै रहने निर्णयमा पुगेका हुन् ।
तत्कालीन एमालेको खेलकुद महासंघका अध्यक्ष पौडेल सुशील कोइरालाको पालामा माधव नेपालको कोटाबाट खेलकुदमन्त्री बनेका थिए । पौडेलले एमालेमा ४३ वर्ष सक्रिय राजनीतिक जीवन बिताइसकेकाले आफ्नो कर्मभूमि र मूल पार्टीलाई एकीकृत गर्ने पक्षमा निर्णय लिएको बताएका छन् ।
विगतमा पनि पार्टीभित्रका समस्याहरूको समाधान र एकताको पक्षमा आवाज उठाउँदै आएको भन्दै पौडेलले आफूले मेहनतपूर्वक बनाएको पार्टीभित्र बसेर विकृति तथा विसंगत विचारसँग लड्दै अघि बढ्ने उल्लेख गरेका छन् ।