यी हुन् कांग्रेसका कान्छो पालिका सभापति-Sutra News

यी हुन् कांग्रेसका कान्छो पालिका सभापति

सोमबार, ११ असोज २०७८

सोमबार, ११ असोज २०७८

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्वाचित कांग्रेस सभापति अमृत गिरी जिल्लाकै कान्छो सभापति बनेका छन् । सोमबार सम्पन्न गाउँपालिका अधिवेशनबाट ३२ वर्षीय गिरी कांग्रेसको गाउँपालिका सभापतिमा चयन भएका हुन् ।



गाउँपालिका सभापतिका प्रत्यासी डम्बर खड्काले उम्मेदवारी फिर्ता लिएपछि गिरी पालिका सभापतिमा निर्विरोध चयन भएका हुन् ।दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सछितापोखरीमा २४ वैशाख २०४६ मा जन्मिएका गिरीले आफ्नो कार्यकालमा गाउँपालिकामा पार्टीलाई पहिलो बनाउने प्रतिक्रिया दिएका छन् ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएका थिए । संस्थागत रूपमा संगठन विस्तार, पार्टीभित्र एकता, पार्टी संगठनको नेतृत्व विकासमा जोड दिने गिरीले बताए ।

‘संस्थागत रूपमा संगठन विस्तार गरिन्छ, पार्टीलाई एक ढिक्का बनाएर राखिन्छ’, गिरीले भने, ‘पार्टी संगठनभित्र नेतृत्व विकास र प्रशिक्षणलाई जोड दिइन्छ । आमनिर्वाचनमा पार्टीलाई विजय गराउने गरी काम गरिन्छ ।’ 

सरस्वती मावि डाँडाखर्क सछितापोखरीमा कक्षा १० मा अध्ययन गरिरहेका बेला अनेरास्ववियुको इकाई कमिटी अध्यक्षबाट राजनीतिमा प्रवेश गरेका गिरीले २०६४ सालदेखि कांग्रेसको राजनीति सुरु गरेका हुन् ।

उनले २०६५ सालमा नेविसंघका तर्फबाट सिमपानी क्याम्पसको स्ववियु कोषाध्यक्ष, २०६८ सालमा नेविसंघको सिमपानी क्याम्पस इकाई समिति सभापतिलगायतका भूमिका निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट