यदि तपाईंले आईफोन थर्टिन खरिद गरिसक्नु भएको छ वा खरिद गर्ने विचारमा हुनुहुन्छ भने तपाईंले यो विषयलाई ख्याल गर्नैपर्ने हुन्छ । किन भने यदि तपाईंले आईफोन थर्टिनको डिस्प्ले फुटाउनु भयो भने मर्मतका लागि एप्पलको आधिकारिक रिपेयर सेन्टरमै जानुपर्नेछ ।
यसको खास कारण भनेको एप्पलले आईफोनको डिस्प्लेलाई फेसआईडी संयन्त्रसँग गाँसेको छ । यसको अर्थ यदि तपाईंले एप्पलको आधिकारिक रिपेयर सेन्टरभन्दा बाहिरबाट नयाँ डिस्प्ले राख्नु भयो भने फेसआईडीले काम गर्ने छैन ।
यो विषयमा यकिन हुन तपाईंले आइफों रिपेयर गुरुले तयार पारेका केही भिडिओ हेर्न सक्नुहुन्छ । यी भिडिओबाट मात्र नभएर अन्य परीक्षणबाट समेत एप्पलले फेसआईडीबाट काम गर्ने सुरक्षा प्रणालीलाई डिस्प्लेसँग जोडेको छ ।
जसले गर्दा तपाईंले फेरेको नयाँ डिस्प्ले आईफोनले डिटेक्ट गर्न सक्छ र फेस आईडीलाई निष्कृय तुल्याइदिन्छ । त्यसैले यदि तपाईंले डिस्प्ले फुटाउनु भयो भने तपाईंको अबको एउटा मात्र उपाय भनेको एप्पल वा एप्पलको आधिकारिक सर्भिस सेन्टर अथवा एप्पल केयर प्लस जाने हो ।
वारेन्टी अवधिपछि तपाईंले आईफोन थर्टिन प्रो म्याक्सको डिस्प्लेका लागि ३२९ अमेरिकी डलर (करिब ३९ हजार रुपैयाँ) तिर्नुपर्नेछ । त्यस्तै आईफोन थर्टिन प्रोका लागि २७९ अमेरिकी डलर (करिब ३३ हजार रुपैयाँ), आईफोन थर्टिनका लागि २७९ (करिब ३३ हजार रुपैयाँ) अमेरिकी डलर र आईफोन थर्टिन मिनीका लागि डिस्प्ले फेरेको २२९ डलर (करिब २७ हजार रुपैयाँ) लाग्नेछ ।