विमल घर्तीमगर मैदानमा फर्किए, कहाँ गएका थिए ?-Sutra News

विमल घर्तीमगर मैदानमा फर्किए, कहाँ गएका थिए ?

मंगलबार, १२ असोज २०७८

मंगलबार, १२ असोज २०७८

काठमाडौं- राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्रममा घुँडाको चोट बोकी कतार अस्पेटारमा उपचार गरेका विमल घर्तीमगर मैदान फर्किएका छन् । यसै हप्ता नेपाल फर्किएका विमल उमेर समूहको प्रशिक्षणमा फर्किएका हुन् । विमलले मंगलबारबाट प्रशिक्षण थालेका छन् ।



नेपाल यु-२३ टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विमल व्यक्तिगत प्रशिक्षणमा फर्किएको बताए । ‘उ टोलीमा समावेश छैन । व्यक्तिगत प्रशिक्षणको लागि आएको हो,’ हाल एएफसी छनोटको लागि नेपाली टोली हेरिरहेका महर्जनले भने । 

यसअघि विमलले पुस पहिलो साता राष्ट्रिय टोलीको प्रशिक्षण क्रममा एन्टोरियल क्रुसियल लिगामेन्ट (एसिएल) को चोट बोकेपछि मैदान बाहिर रहँदै आएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार फुटबल संघसँग सहकार्य गर्दै विमलको अस्पेटार अस्पतालमा शल्यक्रिया गरेको थियो ।

कतारमै शल्यक्रियापछि रिह्याबमा रहेका विमल यसै साता नेपाल फर्किएका हुन् । प्रशिक्षक महर्जनले टिम डाक्टर र फिजियो निर्देशनअनुसार विमलले टोलीसँगै प्रशिक्षण गरिरहेको तर टोलीमा भने नरहने बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट