जनकपुरधाम- पाँच जनाको ज्यान जाने गरी जनकपुरधाममा गराइएको बम विस्फोट काण्डको मुद्दाको बहस लम्बिँदै गएको छ ।आइतबारदेखि नै सो मुद्दामा उच्च अदालत जनकपुरमा बहस सुरु भए पनि मंगलबार पनि जारी नै रहेको छ ।
१८ वैशाख २०६९ मा मिथिला राज्यको माग गर्दै जनकपुरधामको रामानन्द चोकको धर्नामा गराइएको बम विस्फोटको मुद्दाको आइतबारदेखि वहस सुरु भएको थियो । उक्त बम काण्डमा पाँच जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
उक्त घटनाको मुख्य योजनाकारको अभियोगमा जिल्ला अदालत धनुषाले पूर्वसांसद संजय साहलाई जन्मकैदको सजाय सुनाइसकेको छ । साह हाल काठमाडौंस्थित कारागारमा रहेका छन् ।
जिल्ला अदालतको फैसलाविरुद्ध साहले उच्च अदालत जनकपुरमा रिट दायर गरेपछि त्यसको सुनवाइ भइरहेको हो । उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासमा उक्त मुद्दामा बहस भइरहेको छ ।
मंगलबार प्रतिवादीका तर्फबाट अधिवक्ता प्रकाश घिमिरे, उमेश सिंहलगायतले बहस गरेका छन् । यसअघि सोमबार मुद्दा जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ता विनोद शर्मा घिमिरे, दीपेन्द्र साह, श्याम मिश्र, पारस मिश्र, विपीन झा, चन्द्रप्रसाद मैनालीलगायतले बहस गर्ने उच्च सरकारी वकिल कार्यालय जनकपुरका सहन्यायधिवक्ता खडानन्द गौतमले बताए । जाहेरीवाला र प्रतिवादी दुवैतर्फका वकिलहरूले बहस गर्न बाँकी नै रहेकाले बुधबार पनि बहस जारी रहने उनले बताए ।